
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेकी भक्तपुरकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले एमबीबीएस तहसम्मको अध्ययन खर्च व्यहोर्ने घोषणा गरेका छन्।
भक्तपुरको एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमाले एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेपछि सञ्चार माध्यमहरूमा उनको संघर्ष र सफलताको कथा व्यापक रूपमा सार्वजनिक भएको थियो। गोमाको यस प्रेरणादायी यात्राले सामाजिक सञ्जाल र आमसञ्चारमा निकै चर्चा पाएको छ।
समाजसेवी व्यक्तित्व समेत रहेका गुरुङ दम्पतीले गोमाको शिक्षा यात्रा रोकिन नदिन प्रतिवद्धता जनाउँदै बिहीबार भाटभटेनीस्थित आफ्नो कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रममा उनीहरूले गोमालाई एक लाख रुपैयाँ नगद, एक थान ल्यापटप र सम्मानपत्र प्रदान गर्दै सम्मानित गरे।
कार्यक्रममा अध्यक्ष गुरुङले गोमाको दृढता र मेहेनतबाट आफूहरू प्रभावित भएको भन्दै उच्च शिक्षा प्राप्तिका लागि आवश्यक सम्पूर्ण खर्च सहयोग गर्ने प्रतिबद्धता जनाए। गुरुङ दम्पतीले गोमालाई एमबीबीएस तहसम्मको अध्ययन खर्च मात्र नभई आवश्यक परे थप सहयोग पनि गरिने बताएका छन्।
गोमाले सम्मान पाउँदा आफूप्रति देखाइएको सद्भाव र सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा डाक्टर बनेर समाजसेवा गर्ने लक्ष्य दोहोर्याएकी थिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे