
राजविराज । सप्तरीको खडक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जयप्रकाश चौधरी थारुले नगरभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पोसाक प्रदान गर्ने निर्णय गरेका छन् ।
पदभार ग्रहणपछि उनले पहिलो निर्णय गर्दै सामुदायिक विद्यालयका विद्यार्थीलाई पाइन्ट, शर्ट, जुत्ता र टाईसहितको पोसाक निःशुल्क प्रदान गर्ने बताए। पहिलो चरणमा प्राथमिक तहमा, दोस्रो चरणमा निम्न माध्यममा र तेस्रो चरणमा माध्यमिक तहका विद्यार्थीलाई पोसाक निःशुल्क प्रदान गरिनेछ उनले भने। यसका लागि आगामी वर्षको शिक्षा क्षेत्रअन्तर्गत पोसाकको लागि बजेट छुट्याइनेछ ।
नगरभरिका गर्भवतीका लागि भिडिओ एक्सरे सेवा निःशुल्क र नगर बाहिरकालाई ५० प्रतिशत शुल्क लिई सेवा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले जानकारी दिए। उनका अनुसार भिडिओ एक्सरे मेसिन खरिद भइसकेको छ र सो सेवा सुरु गर्नका लागि केही समय लाग्नेछ ।
नगरपालिकाअन्तर्गत कार्यालयमा सिसी क्यामेरा र विद्युतीय हाजिरी प्रणाली जडान गरी अनलाइन सुपरीवेक्षण र अनुगमनको व्यवस्था गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने निर्णय भएको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे