काठमाडौँ , २६ भाद्र |नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठूलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुकमात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौं रुपियाँ पनि लगिरहेका छन् ।
विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । राष्ट्र बैङ्कका अनुसार यो रकम औपचारिक माध्यमबाट गएको विप्रेषण मात्रै हो ।
विश्व बैङ्कले पनि सन् २०२० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट त्यतिबेला विप्रेषणका रूपमा चार करोड ४१ लाख (करिब साढे पाँच अर्ब रुपियाँ) अमेरिकी डलर बाहिरिएको छ ।
त्यसअघि सन् २०१९ मा छ करोड, २०१८ मा चार करोड ९४ लाख, २०१७ मा तीन करोड ३४ लाख, २०१६ मा दुई करोड र २०१५ मा ९० लाख अमेरिकी डलर रहेको विश्व बैङ्कको तथ्याङ्क छ । यद्यपि औपचारिक माध्यमबाट बाहिरिएकोभन्दा धेरै रकम अनौपचारिक माध्यमबाट बाहिरिरहेको अनुमान राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टको छ ।
ठूलो सङ्ख्यामा भारतीय नागरिक नेपालमा अनौपचारिक रूपमै काम गरिरहेकाले उनीहरूले अनौपचारिक माध्यमबाटै विप्रेषण पठाउने गरेका छन् । विश्व बैङ्कको तथ्याङ्कमा भारतको विप्रेषण आम्दानीका दस महत्वपूर्ण स्रोत मुलुकमध्ये नेपाल पर्नुले पनि यो कुरालाई पुष्टि गर्छ ।
संयुक्त राज्य अमेरिकाको पिउ रिसर्चले सन् २०१७ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार त्यतिबेलै भारतीयले नेपालबाट करिब तीन खर्ब रुपियाँ विपे्रषणका रूपमा लगेको उल्लेख थियो । गोरखापत्र दैनिक बाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे