
अर्घाखाँची | आज बिहान अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ टारीमा एक फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ र २४ जना घाइते भएका छन्। लु १ ज ४७२४ नम्बरको गाडी बुटवलबाट गुल्मीको पुर्कोटतर्फ जाँदै थियो। गाडी अनियन्त्रित भई करिब ३० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा गुल्मी मदाने गाउँपालिका–६ की १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका–७ का १३ वर्षीय नारायण पौडेलको ज्यान गएको छ।
३२ वर्षीया तारा सेन के.सी गम्भीर घाइते भएकी छन् र ढाड तथा टाउकोमा चोट लागेपछि उनलाई बुटवल रिफर गरिएको छ। २० जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ भने ४ जनाको अवस्था गम्भीर छ। गाडीमा चालकसहित २६ जना यात्रु सवार थिए, जसमध्ये ८ जना बालबालिका थिए। चालक पनि घाइते भएका छन्।
दुर्घटनाको कारण गाडीको नियन्त्रण गुमिनु रहेको बताइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे