
काठमाडौंँ ।नेपाल फिनटेक फेस्टिभल २०२५ अन्तर्गत ‘बैंकिङ रिसेट: परम्परागत प्रणालीबाट डिजिटल रूपान्तरणतर्फ’ भन्ने विषयमा केन्द्रित प्यानल छलफल सम्पन्न भइसकेको छ। कार्यक्रम गत मे ८ मा काठमाडौंमा सम्पन्न भएको थियो।
उक्त प्यानलमा एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे लगायत नेपालका प्रमुख वाणिज्य बैंक तथा विकास बैंकका उच्च पदस्थ अधिकारीहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए।
प्यानलमा मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युमान पोखरेल, नबिल बैंक लिमिटेडका कार्यवाहक सीईओ मनोज ज्ञवाली, ग्लोबल आइएमई बैंक लिमिटेडका डेप्युटी सीईओ सुमन पोखरेल सहभागी थिए भने कार्यक्रमको सञ्चालन द डिजिटल फिफ्थका संस्थापक समीर सिंह जैनिले गरेका थिए।
उक्त छलफलमा वक्ताहरूले बैंकिङ प्रणालीमा विद्यमान पुराना प्रविधि र संरचनाले डिजिटल नवप्रवर्तनलाई कसरी चुनौती दिएको छ भन्ने विषयमा दृष्टिकोण प्रस्तुत गरेका थिए। उनीहरूले आफ्नो संस्थाले डिजिटल रूपान्तरणका क्षेत्रमा गरेका प्रयासहरू, सिकाइहरू र आगामी योजनाहरू पनि प्रस्तुत गरेका थिए।
कार्यक्रम फिनटेक अलायन्स नेपाल, द डिजिटल फिफ्थ र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्यमा सम्पन्न भएको थियो। ‘युनियन पे इन्टरनेशनल’, ‘केयरएज एनालिटिक्स’, ‘डेसिमल टेक्नोलोजी’, ‘क्लियरिङ हाउस नेपाल’ लगायतका संस्थाहरूले कार्यक्रमलाई प्रायोजन तथा सहयोग गरेका थिए।
नेपालमा डिजिटल बैंकिङ प्रवर्द्धन गर्न यस्ता छलफलहरू अत्यन्त आवश्यक भएकोमा सहभागीहरूको जोड रहेको थियो। उनीहरूका अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले समयमै परम्परागत प्रणाली परित्याग गरी डिजिटल समाधानहरूमा लगानी नगरे उचित प्रतिस्पर्धा गर्न नसक्ने जोखिम बढ्दै गएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे