
काठमाडौं , २२ जेठ। यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने भएको छ । मनसुन झन्डै चार महिना रहेर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ । जलवायु विज्ञहरुले विपद्जन्य हानी तथा नोक्सानीका कारण नेपालले विगत आठ वर्षमा करिव साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा विज्ञहरुले आउने दिनमा जलवायुजन्य विपदका घटनाहरुमा उल्लेख्य वृद्धि हुने बताए । बाढी, पहिरो, समुन्द्री आँधीलगायतका घटनाहरु बढीभन्दा बढी वृद्धि हुने उनीहरुले बताए । कार्यक्रममा बोल्दै जलवायु विज्ञ एवम् प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रविनमान सिंहले आगामी दिनमा बाढी, पहिरोलगायतका घटनाहरुमा वृद्धि हुने र यसले मानवीय र प्राकृतिक प्रणालीमा ठुलो असर पुग्ने बताए ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार परेको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ मा मनसुनमा हुने अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसंख्यालाई असर गर्ने अनुमान गरिएको छ । प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले मनसुनजन्य विपद्बाट यो वर्ष १८ हजार परिवारलाई प्रत्यक्ष राहत उपलब्ध गराउनुपर्ने अनुमान गरिएको बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे