
काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा मङ्गलबार हस्ताक्षर गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर सागर श्रेष्ठ र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतामा हस्ताक्षर गर्ने कम्पनीहरूमा एससी पावर कम्पनी प्रालि, सुर्मा सरोबर हाइड्रोपावर प्रालि, माता मालिका इनर्जी मल्टिपल प्रालि, सूर्य होल्डिङ प्रालि र हिमजल हाइड्रोपावर प्रालि रहेका छन्।
कार्यक्रममा मन्त्री खड्काले ग्रीड कनेक्सनका यस्ता सम्झौताले नेपालको ऊर्जा क्षेत्रको दीर्घकालीन विकास र लक्ष्य प्राप्तिमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे। “ऊर्जा प्रवर्द्धन र लगानी व्यवस्थापनमा कमजोरी हुँदा समृद्धि अवरुद्ध भएको छ, यस्ता सम्झौताले आवश्यक सुधारमा टेवा पुर्याउनेछन्,” उनले बताए।
ऊर्जासचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल लगायत वक्ताहरूले सरकारले सन् २०३५ सम्मको ऊर्जा लक्ष्य हासिल गर्न ग्रीड कनेक्सन आवश्यक रहेको र यस्ता सहकार्यले ऊर्जा प्रणाली सुदृढ बनाउने धारणा राखे।
सम्झौता भएका आयोजनाहरू:
तिला–१ जलविद्युत् आयोजना (४४० मेगावाट, कालीकोट) – प्रवर्द्धक: एससी पावर कम्पनी प्रालि
महाकाली सेती अर्धजलाशययुक्त आयोजना (५४ मेगावाट, बझाङ) – प्रवर्द्धक: सुर्मा सरोबर हाइड्रोपावर प्रालि
मालुमेला सेतीनदी पिकिङ आयोजना (७२ मेगावाट, बझाङ) – प्रवर्द्धक: माता मालिका इनर्जी मल्टिपल प्रालि
अपर मेवा खोला ‘ए’ आयोजना (३१.९२ मेगावाट, ताप्लेजुङ) – प्रवर्द्धक: सूर्य होल्डिङ प्रालि
सुपर दरौदी आयोजना (९.१४३ मेगावाट, गोरखा) – प्रवर्द्धक: हिमजल हाइड्रोपावर प्रालि
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे