
काठमाडौँ, माघ १० – कृषि आत्मनिर्भरता हासिल गर्न वैज्ञानिक क्षेत्रहरूबीच प्रभावकारी समन्वय र दक्ष नेतृत्व अपरिहार्य रहेको निष्कर्ष पहिलो राष्ट्रिय बाली प्रजनन, आनुवंश र बीउ विज्ञान सम्मेलनले निकालेको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन तथा आनुवंश समाज नेपाल (पिबाग्सन) को संयुक्त आयोजनामा तथा जिन बैंक, लिबर्ड, अक्सफामलगायत संघ–संस्थाको सहआयोजनामा माघ ६–८ गते ललितपुरमा सम्पन्न सम्मेलनले बाली प्रजनन, आनुवंशिकी र बीउ विज्ञान क्षेत्रको वर्तमान अवस्था, चुनौती र भावी योजनामा वैज्ञानिक बहस, अनुसन्धान प्रस्तुति र सम्मान कार्यक्रम सम्पन्न गरेको थियो।
सम्मेलनमा कृषि विज्ञानका छ आयाम—आनुवंशिकी, बाली प्रजनन, बीउ विज्ञान, कृषि जैविक विविधता, जैविक प्रविधि र कृषि बायोस्टाटिस्टिक्स—बीच समन्वय आवश्यक भएको निष्कर्ष प्रस्तुत भयो। कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले नेपालमा अनुसन्धान समन्वय, प्रविधि विकास र बीउ प्रणाली सुदृढ गर्न अझै धेरै काम गर्नुपर्ने स्वीकार्दै गुणस्तरीय बीउ उत्पादन र प्रभावकारी नियमनमा सरकार प्रतिबद्ध रहेको बताए।
सम्मेलनमा ८ विशेष कार्यपत्र, ४२ अनुसन्धान लेख, २१ पोस्टर र १० प्रदर्शनी स्टल प्रस्तुत भए। उत्कृष्ट बाली प्रजनक पुरस्कार डा. राजेन्द्र दराई, उत्कृष्ट उद्धृत अनुसन्धानकर्ता जीवन श्रेष्ठ, स्वर्ण बीउ पुरस्कार दामोदर पौडेल, उत्कृष्ट सेवा पहिचान डा. उज्जवल कुमार सिंह कुशवाहा र कृष्ण ढकाल, उत्कृष्ट विद्यार्थी मौखिक प्रस्तुति प्रजिता देवकोटा, उत्कृष्ट पोस्टर प्रस्तुति आस्था ढकाल, उदीयमान प्रतिभा पुरस्कार प्रशंसा पाण्डे र विशेष सम्मान भरत अधिकारी तथा डा. कालिकाप्रसाद उपाध्यायलाई प्रदान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे