
काठमाडौं । बहुप्रकोपीय जोखिम आकलन, पूर्वसूचना प्रणाली तथा पूर्वकार्य सम्बन्धी एकीकृत कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ। यसअघि छुट्टाछुट्टै कार्यदलका रूपमा क्रियाशील रहेका संयन्त्रहरू एकीकृत भएसँगै बसेको यो पहिलो बैठक हो।
बैठकमा पाँचवटा प्रमुख विषयवस्तुमा केन्द्रित प्रस्तुतीकरण गरिएका थिए। तीमध्ये पूर्वानुमानमा आधारित पूर्वकार्यको कार्यढाँचा र मार्गचित्र, केन्द्रीय आपतकालीन प्रतिकार्य कोष (CERF), तातो हावाको लहर सम्बन्धी पूर्वकार्य, सबैका लागि पूर्वसूचना प्रणालीको पहल (EW4ALL), तथा हिन्दू कुश हिमालय क्षेत्रमा अनुकूलन र उत्थानशीलता निर्माण जस्ता विषय समेटिएका थिए।
बैठकले ती पाँच विषयका कार्ययोजनाहरू पारित गर्दै, तिनको सफल कार्यान्वयनका लागि आवश्यक कदमहरू तत्काल अगाडि बढाउने निर्णय गरेको छ। कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्यका साथ सबै सम्बन्धित निकायहरूबीच समन्वयमा जोड दिइएको छ।
बैठक कार्यदलका संयोजक तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव (प्रा.) अर्जुन कुमार बमको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा विभिन्न मन्त्रालय, विभाग र निकायका प्रतिनिधिहरूका साथै मानवीय संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
बैठकले बहुप्रकोपीय जोखिम न्यूनीकरणका सन्दर्भमा एकीकृत, अग्रसर र पूर्वव्यवस्थित प्रणाली आवश्यक रहेको निष्कर्ष निकालेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे