प्रकाशित मिति: २०८१ चैत्र १७, आईतबार (८ महिना अघि)
नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघको प्रथम वार्षिक साधारण सभा सम्पन्न
2,013 Views
काठमाडौं – नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघले वि.सं. २०८१ चैत १५ गते प्रथम वार्षिक साधारण सभा तथा घोषणा सभा भव्य रूपमा सम्पन्न गरेको छ। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिको प्रमुख आतिथ्यतामा महासंघको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष दीपक मल्होत्रा, महासचिव नरेशलाल श्रेष्ठ, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी लगायत शैक्षिक परामर्श क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साधारण सभाले ५५ सदस्यीय कार्यसमिति चयन गरेको छ, जसमा एक वरिष्ठ उपाध्यक्ष, नौ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, छ जना सचिव तथा अन्य वरिष्ठ सदस्यहरू रहेका छन्। साथै महासंघको सल्लाहकार समितिमा १० जना रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा समितिका सभापति थापाले महासंघले शिक्षा परामर्श व्यवसायलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले नेपाली विद्यार्थीहरूलाई सही परामर्श प्रदान गर्दै शिक्षाको गुणस्तर सुधार गर्न महासंघको योगदान अपरिहार्य रहेको उल्लेख गरे।
महासंघका अध्यक्ष राजेन्द्र बरालले महासंघको आधिकारिक घोषणा गर्दै शैक्षिक परामर्श व्यवसायीहरूको हकहित संरक्षण र प्रवद्र्धन गर्न महासंघ प्रतिबद्ध रहेको बताए। उनले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य बनाउने तथा विदेशी विद्यार्थीलाई नेपाल भित्र्याउने दिशामा पहल गरिने उल्लेख गरे। महासंघका महासचिव उद्धब खडकाले महासंघलाई प्रभावकारी रूपमा अगाडि बढाउन सबै सदस्यहरू एकजुट भएर काम गर्नुपर्ने बताए।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभाव भण्डारीले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि विदेश पठाउनु गलत नभए पनि उनीहरूलाई नेपाल फर्किने वातावरण सिर्जना गर्नुपर्ने बताए। उनले नेपालका विश्वविद्यालयहरूको व्यवस्थापनमा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गरे।
महासंघले शैक्षिक परामर्श व्यवसायलाई पारदर्शी, मर्यादित र व्यवस्थित बनाउन विभिन्न सरकारी तथा गैर-सरकारी संस्थाहरूसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ। विद्यार्थीहरूलाई सही परामर्श प्रदान गर्ने, विदेशी विद्यार्थीलाई नेपालमा भित्र्याउने, तथा शैक्षिक परामर्श सेवाको गुणस्तर वृद्धिमा महासंघको ध्यान केन्द्रित रहनेछ।