
काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको माघ अन्त्य, २०८१ (फेब्रुअरी, २०२५ मध्य) को वित्तीय सूचकांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको विभिन्न वित्तीय सूचकमा उल्लेख्य परिवर्तन देखिएको छ। सार्वजनिक विवरणअनुसार कुल निक्षेप र कुल कर्जाको अनुपात (CD Ratio) वर्ग ‘A’ का वाणिज्य बैंकहरूको ७८.९८%, वर्ग ‘B’ का विकास बैंकहरूको ८५.०७% र वर्ग ‘C’ का वित्तीय संस्थाहरूको ७९.३३% रहेको छ। समग्र बैंकिङ प्रणालीको औसत सीडी अनुपात ७९.५४% रहेको छ।
सार्वजनिक तथ्याङ्कअनुसार कुल निक्षेप र कुल गार्हस्थ्य उत्पादन (GDP) को अनुपात वर्ग ‘A’ मा १०५.२०%, वर्ग ‘B’ मा १०.५८% र वर्ग ‘C’ मा २.२२% रहेको छ, जसअनुसार समग्र वित्तीय प्रणालीको कुल निक्षेप-जीडीपी अनुपात ११८.००% पुगेको छ। त्यस्तै, कुल कर्जा-जीडीपी अनुपात ९५.३९% रहेको देखिएको छ।
तरलता सूचकांकतर्फ, बैंक तथा वित्तीय संस्थाहरूको कुल नगद तथा बैंक मौज्दात ७.१६% रहेको छ भने सरकारी धितोपत्रमा गरिएको लगानी कुल निक्षेपको १७.२७% रहेको छ। कुल तरल सम्पत्ति-निक्षेप अनुपात २५.५९% रहेको छ। पूँजी पर्याप्तताको हिसाबले, वर्ग ‘A’ बैंकहरूको कोर पूँजी-जोखिम भारित सम्पत्ति अनुपात (Core Capital/RWA) ९.५०% रहेको छ भने समग्र पूँजी-जोखिम भारित सम्पत्ति अनुपात (Total Capital/RWA) १२.३७% रहेको देखिएको छ।
वित्तीय पहुँचतर्फ, माघ २०८१ सम्ममा नेपालमा ५४ बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन्। ती संस्थाहरूको शाखा संख्या ५,०७८ पुगेको छ भने कुल निक्षेप खाताहरू ५७.९६ करोड रहेको तथ्यांक सार्वजनिक गरिएको छ। त्यस्तै, कुल कर्जा खाताहरू १६.११ लाख पुगेका छन्। डिजिटल बैंकिङ्ग सेवातर्फ, मोबाइल बैंकिङ्ग ग्राहक संख्या २ करोड २७.४६ लाख, इन्टरनेट बैंकिङ्ग ग्राहक संख्या २१.४१ लाख रहेको छ। एटीएम संख्या ५,२३५ रहेको देखिन्छ।
ब्याजदरतर्फ, औसत निक्षेप ब्याजदर ४.६२% रहेको छ, जसमा बचत निक्षेपमा ३.३६%, निश्चित निक्षेपमा ६.३२% र कल निक्षेपमा १.२५% ब्याजदर कायम भएको छ। औसत कर्जा ब्याजदर ८.५५% रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यी सूचकांकहरू बैंक तथा वित्तीय संस्थाहरूको वर्तमान वित्तीय स्थितिको सूचक हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे