
काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि कात्तिक १९ गतेदेखि शेयर निष्काशन खुला गरेको थियो, जसको अवधि आज (कात्तिक २३ गते) समाप्त हुँदैछ।
कम्पनीले १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ चुक्ता पूँजीमध्ये ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न पाएको हो।
यसअघि कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ४ लाख ९७ हजार ९२ कित्ता शेयर विदेशमा रोजगारीमा रहेका नेपालीका लागि जारी गरी बाँडफाँट गरिसकेको छ। अब जारी रहेको हिस्सा आम सर्वसाधारण लगानीकर्ताका लागि हो।
त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आवेदन सि–आस्बा प्रणालीमार्फत, देशभरका आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू र मेरो शेयर एपबाट पनि दिन सकिनेछ।
यस आईपीओलाई इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी डबल बी’ (ICRANP BB) रेटिङ दिएको छ, जसले कम्पनीमा मध्यम स्तरको जोखिम रहेको सङ्केत गर्छ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। प्रभु क्यापिटलले लगानीकर्ताहरुलाई आजभित्र आवेदन प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। कम्पनीले आगामी दिनमा उत्पादन क्षमता विस्तार र बजार सुदृढीकरणका लागि संकलित पूँजीलाई प्रयोग गर्ने योजना बनाएको छ।
यससँगै, लगानीकर्ताले जोखिम र प्रतिफलको मूल्याङ्कन गर्दै आईपीओमा सोचविचारपूर्वक सहभागी हुन विज्ञहरूले सुझाव दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे