
काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक समृद्धि हासिल गर्नका लागि नीजि क्षेत्रले सक्रियता देखाउनका लागि अनुकूल वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्। उनले संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैठौं श्रम संसद समारोहमा बोल्दै नीजि क्षेत्रको सक्रियताले मात्र आर्थिक समृद्धि ल्याउन सक्ने विश्वास व्यक्त गरे।
अध्यक्ष ढकालले भने, “आर्थिक समृद्धि हासिल गर्नको लागि नीजि क्षेत्रले सक्रिय रूपमा काम गर्न सक्यो भने र त्यसका लागि सबै स्थानबाट अनुकूल वातावरण मिलाउन सकियो भने मात्रै सम्भव हुन्छ भन्ने नीजि क्षेत्रको धारणा छ।”
अध्यक्ष ढकालले नेपालमा नकारात्मक विचारहरूको बीचमा नेपाल डेभलप्मेन्ट पब्लिक लिमिटेड कम्पनीमार्फत व्यवसायीलाई इक्युटी दिने पहल गरिएको जानकारी दिए। उनले भने, “नेपालमा केही सम्भावना छैन् भन्ने जुन नकारात्मक सोच बनाइएको छ, त्यो असत्य हो। नेपालमा वास्तविक सम्भावना छ र धेरै कामहरू गर्न सकिने स्थानहरू छन्। महासंघको पहलमा अन्य व्यवसायीलाई पनि इक्युटी चाहिएको छ भने नेपाल डेभलप्मेन्ट पब्लिक लिमिटेड कम्पनीमार्फत त्यसको व्यवस्था गरिएको छ।”
उद्योग व्यवसायको लागि अनुकूल वातावरण बनाउन आवश्यक रहेको कुरा पनि उनले जोड दिए। ढकालले भने, “देशमा उद्योग व्यवसायको लागि राम्रो वातावरण बन्नुपर्छ, त्यसपछि मात्र राज्यको अपेक्षाहरू पूरा गर्न सकिन्छ। महासंघले सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु। यदि उद्योग व्यवसायको वातावरण बन्यो र आर्थिक गतिविधि बढ्यो भने ट्रेड युनियन, मजदुर साथीहरू, व्यवसायी र राज्यले गरेको अपेक्षालाई पूरा गर्न सकिन्छ। यसो गर्दा आर्थिक समृद्धि आउनसक्छ।”
कार्यक्रममा रोजगार परिषद्का अध्यक्ष ध्रुवराज रिजालले अहिलेको आर्थिक गतिविधि अवस्था विग्रिएको बताउँदै, मजदुर र व्यवसायीबीच सहकार्यको महत्वमा जोड दिए। उनले भने, “आजको अवस्थामा श्रमजीवीहरू र साउबीचको भेदलाई हटाएर सबै मिलेर अगाडि बढ्नुपर्छ। आर्थिक अवस्था निर्माणमा को मालिक हो र को मजदुर हो भन्ने छुट्याउन सक्ने अवस्था छैन। यदि श्रमजीवीहरूसँग मिलेर काम गर्न सकिएन भने अहिलेको परिस्थितिको सम्बोधन गर्न सकिँदैन।”
रिजालले राज्यप्रति विश्वास घट्दै गएको र यो समस्यालाई सम्बोधन गर्न संयमको आवश्यकता रहेको कुरा पनि बताएका थिए।
नेपाली ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले जानकारी दिए अनुसार, छैठौं श्रम संसदको बन्द सत्रमा आगामी सन् २०२५ का लागि अध्यक्ष र महासचिव चयन गरिने कार्यक्रम रहेको छ। उनले भने, “हाम्रो बन्द सत्रमा सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरिनेछ, साथै २०२५ का लागि अध्यक्ष र महासचिव चयन गरिनेछ।”
कार्यक्रममा १० वटा महासंघका १ सय ३४ जना प्रतिनिधिहरू र ७० जना पर्यवेक्षकले भाग लिएका थिए। विभिन्न क्षेत्रका प्रतिनिधिहरूले उद्घाटन सत्रमा धारणा प्रस्तुत गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे