
काठमाडौँ ,२ मंसिर |कतारमा हुने विश्वकप फुटबलको सबैभन्दा ठूलो विशेषता हो । महँगो विश्वकप विश्वास गरौं उत्तिकै भव्य पनि हुनेछ । अझ कतारको दाबी त केसम्म छ भने यसपल्टको विश्वकप त्यति भव्य हुनेछ, जति कसैले कल्पनामात्र गर्न सक्छन् । कतारले नयाँ रंगशालाहरूका लागि मात्र भनेर साढे ६ अर्ब डलर खर्च गरेको छ । विश्वकपकै लागि भनेर कतारले त्यस्तो मेट्रो सेवा सुरु गरेको छ, जसलाई ड्राइभर आवश्यक नै पर्दैन ।
बाटो–बाटोमा रहने ‘ल्याम्प’ पनि कस्ता छन् भने तिनले रुपमा झल्को दिनेछ । कतारको अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्य दोहासम्म सजिलै पुग्न सकिनेछ । विश्वकप पहिलोपल्ट अरब देशमा हुन लागेको छ, त्यसैले कतारले त्यसलाई वास्तवमै भव्य बनाउन कुनै कन्ज्युस्याइँ गरेको छैन । कतारको चाहना के छ भने अहिलेको विश्वकप यस्तो होस्, जसलाई धेरै–धेरै पछिसम्म पनि सबैले सम्झिराखुन् । यसले छाड्ने छाप सधैंका लागि सम्झनलायक होस् ।अहिले पनि हजारौं कामदार दिनरात नभनी काम गरिरहेका छन्, कहींकतै कुनै काम नछुटोस् भनेर । यसमा बाटोको मर्मतदेखि लिएर होटलको पूर्ण तयारी पनि पर्छ । प्राकृतिक ग्यासको धनी देश कतार वास्तवमै कति धेरै धनी छ भने उसका लागि यी सबै खर्च गर्न मन दुखाउनुपर्दैन ।
कतारले विश्वकप गर्ने भयो भनेपछि नै तीन सय अर्ब डलरको अविश्वसनीय बजेट बनाएको थियो । यो भौतिक पूर्वाधार निर्माणकै लागि खर्च गर्ने भनिएको थियो ।त्यसको अर्थ एक दशकभन्दा लामो समय भइसकेको छ कतारले यो विश्वकपका लागि तयारी सुरु गरेको । एकपल्ट खर्चकै हिसाबकिताब गरौं न, सन् २०१४ मा ब्राजिलले विश्वकप आयोजनाका लागि साढे ११ अर्ब डलर खर्च गरेको थियो । सन् २०१८ मा रुसले १४ अर्ब डलरको बजेट बनाएको थियो । कतारको जनसंख्या २८ लाखमात्र छ, तर यही देशलाई विश्वकै सबैभन्दा धनी देशमध्ये एक सजिलै मान्न सकिन्छ ।जर्जटाउन विश्वविद्यालय कतारका एसोसिएट प्रोफेसर ड्यानियल रिचीले लामो समयदेखि यो देशले गरिरहेको प्रगतिबारे अध्ययन गरिरहेका छन् ।
उनी के मान्छन् भने कतारले विश्वकपका लागि गरेको खर्चलाई अन्य कोहीसँग तुलना गरेर अचम्म मान्नु आफैंमा एक प्रकारले गलत हो । खासमा कतारले सन् २०३० सम्म आफूलाई कसरी स्थापित गर्ने हो भनेर निकै भव्य योजना बनाएको छ । यसकै एउटा भाग हो विश्वकप फुटबल आयोजना ।अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पनि कतारले ८ रंगशालाको जसरी निर्माण गरेको छ त्यसको प्रशंसा नै गरेको छ । यी सबै रंगशालाले अरबकै प्रतिनिधित्व गरिरहेका हुनेछन्, विशेषतः परम्परा र संस्कृतिको आधारमा । केही समयअगाडि मात्र फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भनेका थिए, ‘हामी सबै मिलेर अहिलेसम्मकै सबैभन्दा सफल विश्वकप आयोजना गर्नेछौं, चाहे त्यो मैदानबाहिर होस् वा मैदानभित्र ।
’कतारका लागि यसपालिको विश्वकप विश्व खेलकुदसँग जोडिएको र ठूलो आयोजनाका रूपमा पहिलो नै भने होइन । विश्वकप सबैभन्दा ठूलो भने हो । त्यसैले यसको आयोजनाका लागि कतारले लामो समयदेखि लगातार मिहिनेत गरिरहेको छ । विश्व खेलकुदसँग कतारको नाता पनि त नयाँ र अपरिचित होइन । कतारले विश्वकपका लागि भनेर आफ्नै देशमा मात्र होइन, विदेशमा पनि लाखौं–करोडौं डलर खर्च गरेको छ अनि लगानी गरिरहेको छ ।यसको सबैभन्दा राम्रो उदाहरण त फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) नै हो । यो क्लबमा कतारी लगानी सन् २०११ बाट सुरु भएको थियो । यसैक्रममा नेयमारका रूपमा एक खेलाडी किन्न मात्र २२ करोड डलरभन्दा बढीको कीर्तिमानी रकम खर्च गरिएको थियो ।
सन् २०१७ मा पीएसजीले नेयमारलाई किनेको थियो । यसमा कतार स्पोर्टस इन्भेस्टमेन्ट (क्यूएसआई) को लगानी रहेको छ । यही क्युएसआईले बेल्जियमको पहिलो डिभिजनको क्लब केएएस युपेनको स्वामित्व पनि किनेको छ ।यतिमात्र होइन, यही समूहले पोर्चुगाली क्लब स्पोर्टिङ ब्रागको २२ प्रतिशत सेयर पनि किनेको छ । कतारले पहिलो ठूलो प्रतियोगिता आयोजनाका रूपमा सन् २००६ मा एसियाली खेलकुदका लागि महादेशका हजारौं खेलकर्मीलाई भव्य आतिथ्यता प्रदान गरेको थियो । त्यस्तै सन् २०११ मा कतारले एसियन कप अफ नेसन्स आयोजना गरिसकेको छ । त्यतिमात्र होइन, सन् २०१९ को विश्व एथलेटिक्स च्याम्पियसिप पनि कतारमै भएको थियो । मान्नुपर्छ, खासमा अहिलेको विश्वकप आयोजनाका लागि कतारको तयारी धेरै अगाडि सुरु भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे