
काठमाडौं । संघीय संरचनाको निर्माणपछि सरकारले अगाडि सारेको सबै स्थानीय तहमा बैंक शाखा विस्तार गर्ने लक्ष्य अन्ततः पूरा भएको छ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले शाखा विस्तार गर्दै गएपछि गत असोज महिनामा एभरेष्ट बैंकले विकट क्षेत्र बझाङको साईपाल गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको थियो। सोसँगै मुलुकभर ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति सुनिश्चित भएको छ।
बैंकले शाखा सञ्चालन गरेपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वयं हेलिकोप्टरमार्फत सो शाखाको उद्घाटन गर्न पुगेका थिए। उक्त अवसरमा एभरेष्ट बैंकका व्यवस्थापन टोली तथा सञ्चालक समितिका पदाधिकारीहरू समेत सहभागी भएका थिए।
संघीय संरचना कार्यान्वयनपछि सरकारी कारोबार वाणिज्य बैंकमार्फत सञ्चालन हुने नीति अवलम्बन गर्दै नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंक शाखा पुर्याउन निर्देशन दिएको थियो। आर्थिक वर्ष २०७४/७५ भित्रै शाखा विस्तार गर्ने लक्ष्य राखिए पनि भौगोलिक विकटता, पूर्वाधार अभाव, र सुरक्षाका चुनौतीका कारण केही स्थानीय तहमा ढिलाइ भएको थियो।
बैंकहरू स्वयं शाखा खोल्ने प्रतिवद्धता जनाएका बाहेक अन्य स्थानका लागि राष्ट्र बैंकले गोलाप्रथाको आधारमा शाखा विस्तार गर्ने बैंकहरूको सूची तयार पारेको थियो। पूर्वाधार र व्यवसायिक सम्भावना भएका स्थानमा सहजै शाखा स्थापना भए पनि केही दुर्गम क्षेत्रमा आवश्यक पूर्वाधार र सुरक्षाको अभावका कारण बैंकहरूले विस्तार गर्न कठिनाइ भोगेका थिए।
तर, लामो प्रयासपछि अन्ततः सबै स्थानीय तहमा बैंक शाखा स्थापना भएसँगै वित्तीय पहुँचको विस्तारमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको राष्ट्र बैंकले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे