
गण्डकी — पर्यटन राजधानी पोखरामा पहिलोपटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–भारत–चीन प्रदर्शनी) सुरु भएको छ। प्रदर्शनीमार्फत भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजकहरूले बताएका छन्।
तीन दिनसम्म चल्ने प्रदर्शनीमा ८० क्रेता, ७० बिक्रेता र ७५ अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ६०० भन्दा बढीको सहभागिता रहेको छ।
प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको नेतृत्वमा नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् तथा अन्य सरकारी र निजी क्षेत्रका साझेदार संस्थाहरूको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो।
प्रदर्शनीले नेपाल, भारत र चीनका सरकारी तथा निजी क्षेत्रका पर्यटन प्रवर्द्धन संस्थाहरुलाई एकैथलोमा ल्याई व्यावसायिक अनुभव आदानप्रदान, सञ्जाल विस्तार र व्यापारिक अवसरहरू सिर्जना गर्न मद्दत गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
पोखरालाई अन्तर्राष्ट्रिय माइस पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन
‘नाइस फर माइस एण्ड मोर’ नारासहित आयोजना गरिएको प्रदर्शनीले पोखरालाई पदयात्रा तथा साहसिक पर्यटन केन्द्रका रूपमा मात्र नभई माइस (MICE) पर्यटनको केन्द्रका रूपमा पनि स्थापित गर्ने लक्ष्य राखेको पाटा नेपालले जनाएको छ। माइस पर्यटनअन्तर्गत बैठक, सभा सम्मेलन, प्रोत्साहन भ्रमण, विवाह तथा अन्य महोत्सव, मेला र प्रदर्शनी जस्ता गतिविधिहरू प्रवर्द्धन गरिन्छ।
पोखरा ८२२ मिटर उचाइमा अवस्थित प्राकृतिक सौन्दर्ययुक्त सहर भएको र यहाँबाट धौलागिरी, अन्नपूर्ण–१, मनास्लु लगायतका हिमशृङ्खलाको अवलोकन गर्न सकिने कारणले गर्दा पर्यटनको दृष्टिले महत्वपूर्ण गन्तव्य बन्दै गएको बताइएको छ।
पर्यटन तथा व्यापार प्रवर्द्धनमा योगदान
पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले नेपालको पर्यटन सम्भाव्यता र एकीकृत व्यापारिक अवसर प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको बताए। उनले भारत र चीन जस्ता ठूला पर्यटन स्रोत बजारलाई लक्षित गर्दै नेपाललाई थप पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास भइरहेको उल्लेख गरे।
प्रदर्शनीको दोस्रो दिन फागुन १३ गते ‘द नलेज फोरम’ सञ्चालन हुनेछ। जसमा ‘भिसा डेस्टिनेसन इनसाइट्सः सपोर्टिङ द टुरिजम इकोसिस्टम टु सस्टेनेबल हस्पिटालिटी फ्रम कन्स्ट्रक्सन टु अपरेसन’ जस्ता विषयमा पर्यटन विशेषज्ञहरूबीच ज्ञान आदानप्रदान गरिने छ। साथै, बिटुबी (B2B) प्रदर्शनी, व्यावसायिक बैठक तथा सञ्जाल विस्तारका विभिन्न सत्रहरू पनि आयोजना गरिने जनाइएको छ।
नेपाल–भारत–चीन त्रिदेशीय पर्यटन साझेदारीलाई प्रवर्द्धन
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रदर्शनीले नेपाल, भारत र चीनबीच पर्यटन, व्यापार र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने, “यो विशेष कार्यक्रम हाम्रो क्षेत्रीय सहकार्य र समृद्धिको सेतु बन्नेछ।”
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पनि त्रिदेशीय पर्यटन प्रवर्द्धनका लागि प्रदर्शनी विशेष उपलब्धि हुने उल्लेख गर्दै, यसले पोखराको पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने र अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्ने बताए।
पोखरा भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै आयोजना गरिएको यस प्रदर्शनीमा नेपाल, भारत र चीनका विश्वप्रसिद्ध ट्राभल कम्पनीहरू, टुर अपरेटरहरू, पर्यटनविद्हरू तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ। प्रदर्शनीले पर्यटन प्रवर्द्धनका साथै व्यापारिक सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि तथा समग्र पर्यटन उद्योगलाई बलियो बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे