
काठमाडौं। एभरेष्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले पुस मसान्तसम्म २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०४ प्रतिशतले वृद्धि भएको हो।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र फी तथा कमिसन आम्दानीमा भएको वृद्धिले बैंकको नाफा सामान्य रूपमा बढ्न पुगेको बैंकले जनाएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी २०.३८ प्रतिशतले वृद्धि भएको छ।
यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशतले बढेको छ। यद्यपि, इम्पेरमेन्ट चार्ज ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेपछि सञ्चालन मुनाफा भने २.०६ प्रतिशत मात्र वृद्धि भएको छ।
नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी घटेको छ। पुससम्म प्रतिसेयर आम्दानी १ रुपैयाँ २० पैसाले घटेर ३० रुपैयाँ ८६ पैसामा झरेको छ। बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात २१.३९ गुणा रहेको छ।
सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ७२ पैसा रहेको छ। १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे