
पर्सा — बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा आयोजित अन्तरसंवाद कार्यक्रममा वक्ताहरूले बैंक तथा वित्तीय संस्थाले कानुनी प्रक्रिया मात्रै पूरा गरेर देखावटी रूपमा लिलाम प्रक्रिया अघि बढाउने प्रवृत्तिमा सुधार आवश्यक रहेको बताएका हुन्।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बैंक तथा वित्तीय संस्थाले धितो लिलाम प्रक्रियामा पारदर्शिता कायम राख्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले धितो स्वीकार गर्ने क्रममा रु ५० लाख मूल्याङ्कन गरिएको सम्पत्तिको लिलाम गर्दा मूल्य घटाइने प्रवृत्तिलाई सुधार गर्नुपर्ने बताएका छन्। साथै, धितो लिने क्रममा इञ्जिनियरमार्फत मूल्याङ्कन गरिने तर लिलामका बेला सोही प्रक्रिया नअपनाइने प्रवृत्तिप्रति उनले आपत्ति जनाएका छन्।
नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशील पौडेलले ऋण प्रवाह मात्र नभई त्यसको प्रभावकारी अनुगमन आवश्यक रहेको धारणा राखेका छन्। उनले ऋण सही प्रयोजनमा खर्च भएको छ कि छैन भन्ने विषयमा बैंकहरू थप सचेत रहनुपर्ने बताए।
वीरगञ्ज बैंक तथा वित्तीय संस्था समूहका संयोजक रोहिणी आचार्यले केही संस्थाका कमजोरीका आधारमा सबै वित्तीय संस्थालाई दोष दिन नहुने बताएका छन्। पछिल्लो समय ऋण असुली चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले वित्तीय संस्थाका कर्मचारीहरू भौतिक आक्रमणको जोखिममा परेकोतर्फ पनि सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन्।
नेपाल राष्ट्र बैंक वीरगञ्जका सहायक निर्देशक नरेशकुमार सर्राफले हाल ऋण असुली प्रक्रियामा थप चुनौती देखिएको जानकारी दिएका छन्। उनले बैंक तथा वित्तीय संस्थाहरूले सम्पत्ति लिलाम गर्दा पारदर्शिता अपनाउनुपर्नेमा जोड दिएका छन्।
पर्साका प्रहरी प्रमुख गौतम मिश्रले आर्थिक अपराधसम्बन्धी उजुरीहरू बढ्दै गएको जानकारी दिएका छन्। उनले बैंक तथा वित्तीय संस्थाहरूले अनुसन्धान प्रक्रियामा सहकार्य गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरका गणपति राधेश्याम धिमालले वित्तीय संस्थाहरूलाई कार्यस्थल वरिपरि सिसी क्यामेरा जडान गरी प्रविधिको प्रभावकारी प्रयोग गर्न आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे