
काठमाडौँ। आगामी प्रतिनिधि सभा निर्वाचनका क्रममा संलग्न कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण सम्बन्धी निर्वाचन आयोगले स्पष्ट निर्देशन जारी गरेको छ। आयोगका अनुसार कर्मचारीहरूले निर्वाचन प्रक्रिया तटस्थ, निष्पक्ष र पारदर्शी रूपमा सञ्चालन गर्नुपर्नेछ।
निर्वाचनमा संलग्न कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कार्य गर्न, प्रचार–प्रसारमा संलग्न हुन वा अन्य कुनै गतिविधि गराउन पाइँदैन। साथै, कार्यालयको भवन, सवारी साधन वा अन्य स्रोत सामग्रीलाई कुनै दल वा उम्मेदवारले प्रयोग गर्न नदिने व्यवस्था गरिएको छ।
सामाजिक सञ्जाल र एआइ प्रविधिको प्रयोगमा पनि कर्मचारीले पूर्ण सावधानी अपनाउनुपर्ने छ। निर्वाचन सम्बन्धी सूचना बाहेक अन्य कुनै जानकारी शेयर, पोस्ट, रिपोस्ट, लाइभ स्ट्रिम वा कमेन्ट गर्न वा गराउन नहुने आयोगले जनाएको छ। यसले निर्वाचन प्रक्रिया सुरक्षित, पारदर्शी र निष्पक्ष बनाउने उद्देश्य राख्छ।
निर्वाचनका लागि आवश्यक सूचना बाहेक प्राप्त हुने सबै सूचनाको गोपनीयता कायम राख्नु कर्मचारीहरूको प्रमुख जिम्मेवारी हुनेछ। आयोगले कर्मचारीहरूले आचरणका यी नियमहरू पालना नगरेमा कानुनी तथा प्रशासनिक कारबाही गरिने चेतावनी दिएको छ।
निर्वाचन आयोग, नेपालले तटस्थ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न यी निर्देशहरू जारी गर्दै कर्मचारीहरूको सहयोग र जिम्मेवारीपूर्ण व्यवहारको अपेक्षा राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे