
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले विशेष टिकटक भिडियो बनाउने अभियान सुरु गर्न लागेको छ। यस अभियानको उद्देश्य निर्वाचनलाई भव्य, सभ्य र सचेत बनाउनुका साथै मतदाता शिक्षालाई प्रवर्द्धन गर्नु हो।
भाग लिन इच्छुकले निर्वाचन आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषयमा आधारित एक मिनेट लामो टिकटक भिडियो बनाउनुपर्नेछ। बनाएको भिडियो आफ्नै सामाजिक सञ्जालमा राख्नुपर्नेछ र फागुन १७ गतेभित्र आयोगको इमेलमा पठाउन सकिनेछ।
आयोगले प्राप्त भएका भिडियोमध्ये सबैभन्दा बढी भ्युअर्स पाउने भिडियोहरूलाई पुरस्कार दिनेछ। पहिलो स्थानका भिडियोलाई रु ५० हजार, दोस्रो स्थानलाई रु ३० हजार र तेस्रो स्थानलाई रु २० हजार प्रदान गरिनेछ। उत्कृष्ट भिडियोलाई प्रमाणपत्रसमेत दिइनेछ।
भिडियो संवादमूलक र सन्देशमूलक हुनुपर्छ। आफ्नै मौलिक अडियो, अभिनय र सिर्जनशीलता भएको भिडियो प्राथमिकता पाउनेछ। भिडियोमा निर्वाचनको सामान्य जानकारी, मतदान प्रक्रिया, मतपत्रमा छाप लगाउने तरिका, मतदाताको अधिकार र कर्तव्य, निर्वाचनको महत्व, र उम्मेदवार छान्ने सही तरिका स्पष्ट हुनुपर्छ।
एक व्यक्तिले एउटा भिडियो बनाउन सक्नेछन् भने दुई वा बढी व्यक्तिले सँगै भिडियो निर्माण गर्न सक्नेछन्। आयोगले प्राप्त भिडियोहरू आफ्नो अधिकारमा राख्नेछ र आफ्ना सामाजिक सञ्जालबाट प्रसारण गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे