
काठमाण्डौँ, १६ बैशाख । बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । चुनावी कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको आयोगले जनाएको छ । आजै बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ । ७ सय ५३ पालिकाका ३५ हजार दुई सय २१ पदमा एक लाख ५३ हजार एक सय ६७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
मेयर पदका लागि तीन हजार पाँच सय १८, अध्यक्षका लागि तीन हजार तीन सय ९२, उपमेयरका लागि दुई हजार एक सय ७४, उपाध्यक्षका लागि दुई हजार चार सय सात, वडाध्यक्षका लागि ३५ हजार तीन सय ८७, महिला सदस्यका लागि २६ हजार पाँच सय ५८, दलित महिला सदस्यका लागि २३ हजार नौ सय ५९ र सदस्यका लागि ५५ हजार सात सय ७२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यो पटक पनि स्वतन्त्रका उमेदवारी उल्लेख्य परेको छ । त्यस्तै, गठबन्धनका कारण चित्त नबुझेकाहरुले बागी उमेदवारी समेत दिएका छन् ।
हालसम्म ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ ।-
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे