
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा भौतिक रूपमा बनाइएका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको छ।
आयोगले आइतबार जारी गरेको सूचनामा काठ, फलाम वा अन्य सामग्रीबाट बनाइएका चुनावी चिह्न प्रयोग गर्दा सुरक्षा समस्या हुन सक्ने गुनासा आएको जनाएको छ। त्यसैले कानुनले तोकेअनुसार दलको झण्डा र कागजमा छापिएका आधिकारिक निर्वाचन चिह्न मात्रै प्रयोग गर्न पाइने स्पष्ट गरिएको छ।
आयोगका सहसचिव नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले तोकेको चिह्नबाहेक अरू कुनै स्वरूप प्रयोग गर्न नपाइने उल्लेख छ। नियम उल्लङ्घन गरेमा कारबाही हुने चेतावनी पनि दिइएको छ।
आयोगले सबै दल र उम्मेदवारलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको पालना गर्न आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे