
काठमाडौं, वैशाख ८ । लामो समयदेखि जारी शिक्षक आन्दोलनको चपेटामा परेकी शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः राजीनामा दिएकी छन्। सोमबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेपछि उनले आफ्नो पदबाट राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ। मन्त्री भट्टराईका स्वकीय सचिव अशेष पोखरेलले स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको बताए।
विश्वसनीय स्रोतका अनुसार, शिक्षामन्त्री भट्टराईको राजीनामा आजै बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिने सम्भावना छ। यससँगै शिक्षा मन्त्रालयको नेतृत्वमा फेरबदलको प्रक्रिया सुरु हुने देखिएको छ। हालैको केही सातादेखि शिक्षक संगठनहरूले विभिन्न मागसहित सडक आन्दोलन चर्काइरहेका छन्। सरकारले शिक्षक सेवा, सरुवा, पेशागत अधिकार, र संघीय ढाँचामा कार्यान्वयनका विषयमा स्पष्ट नीति ल्याउन नसकेको आरोप शिक्षक महासंघले लगाउँदै आएको छ।
शिक्षक महासंघ र सरकारबीच धेरैपटक संवाद भए पनि कुनै निर्णायक समाधान ननिस्किएको भन्दै आन्दोलन थप तीव्र बनाइएको थियो। यसबीच शिक्षामन्त्री भट्टराईमाथि राजनीतिक, सामाजिक तथा प्रशासनिक तहबाट तीव्र आलोचना हुन थालेपछि उनी घेराबन्दीमा परेकी थिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे