
भक्तपुर— नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूको संयुक्त आयोजनामा शिक्षक तथा कर्मचारीहरूको भेला सम्पन्न भएको छ। ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ लको आयोजनामा सम्पन्न उक्त भेलामा शिक्षाको गुणस्तर, राजनीतिक हस्तक्षेप तथा स्वायत्तताको विषयमा छलफल गरिएको थियो।
भेलामा अध्यक्ष बिजुक्छेँले विश्वविद्यालयहरू राजनीतिक कार्यकर्ता उत्पादन गर्ने थलो बनेको टिप्पणी गरेका छन्। उनले विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डाका कारण योग्य तथा सक्षम व्यक्तिहरू ओझेलमा परिरहेको बताए। साथै, सरकार जनअपेक्षाअनुसार आर्थिक प्रगति हासिल गर्न असफल भएको उनको धारणा थियो।
विद्यार्थीहरूले परीक्षा मात्र उत्तीर्ण गर्ने उद्देश्य राखेर उच्च शिक्षा अध्ययन गर्दा शैक्षिक जग कमजोर हुने उल्लेख गर्दै उनले शिक्षक तथा प्राध्यापकहरूलाई फराकिलो दृष्टिकोण राखेर अध्यापन गराउनुपर्नेमा जोड दिए।
स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्ने बताउँदै उनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र अस्पताललाई राज्य पक्षपातपूर्ण व्यवहार गरिरहेको आरोप लगाए। भारतको ओडिसास्थित किट कलेजमा घटेको घटनामा सरकार नै मुख्य दोषी रहेको उनले बताए। यदि सरकारले प्रत्येक प्रदेशमा विश्वविद्यालय तथा अस्पताल सञ्चालन गरेको भए सन्तुलित विकास सम्भव हुने उनको भनाइ थियो।
देशमा अनियमितता र भ्रष्टाचार मौलाउँदै गएको उल्लेख गर्दै उनले बुद्धिजीवी वर्गले समाजलाई अगाडि बढाउने उद्देश्यले भूमिका खेल्नुपर्ने धारणा राखे।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप विश्वविद्यालयलाई देशकै गौरवको योजना भएको बताएका छन्। तथापि, शासक दलहरूबीच भागबण्डा गर्ने प्रवृत्तिका कारण विधेयक अझै पारित हुन नसकेको उनले उल्लेख गरे।
नेपालमा अमेरिकी सहायता (USAID) स्थगित मात्र नभई पूर्ण रूपमा खारेज हुनुपर्ने उनको धारणा थियो। विदेशी सहयोगमा निर्भर रहेर देश आत्मनिर्भर बन्न नसक्ने बताउँदै उनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था तथा अस्पताललाई आत्मनिर्भर बनाउन लागिपरेको जानकारी दिए।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको सञ्चालन विधि तथा प्रणाली सबैको चासोको विषय बनेको बताए। ख्वपको शैक्षिक प्रगति अनुकरणीय बन्दै गइरहेको उनले उल्लेख गरे।
त्यस्तै, ख्वप कलेज अफ लकी प्राचार्य अनिता जधारी र ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले शिक्षक तथा विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति नबुझ्दा ठूलो दुर्घटना निम्तिन सक्ने चेतावनी दिए। उनीहरूले राजनीतिक रूपले प्रतिबद्ध शिक्षक तथा विद्यार्थीहरूमा क्रान्तिकारी भावना रहेको पनि उल्लेख गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे