
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन तयारीबारे निर्वाचन आयोगले आज प्रमुख राजनीतिक दलका प्रतिनिधिसँग संयुक्त छलफल गर्ने भएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफल बिहान ११ः३० बजे आयोगको कान्तिपथस्थित कार्यालयमा हुनेछ। यसका लागि संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ दललाई पत्र पठाई प्रमुख वा अधिकृत प्रतिनिधि पठाउन आग्रह गरिएको छ।
आजको छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दल सहभागी हुनेछन्।
आयोगले यसअघि असोज २० गते प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक कार्यतालिका सार्वजनिक गरिसकेको थियो। आयोगका अनुसार मतदाता नामावली अद्यावधिक, मतदान केन्द्रहरूको समीक्षा, कर्मचारी परिचालन तथा प्राविधिक तयारीलाई अहिले प्राथमिकताका साथ अघि बढाइएको छ।
निर्वाचन मिति नजिकिँदै गर्दा आयोगले राजनीतिक दलसँगको समन्वयलाई अझ मजबुत बनाउन र प्रक्रिया पारदर्शी बनाउन आजको छलफललाई महत्त्वपूर्ण मानिएको छ। आयोगले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वासयोग्य बनाउन सबै दलहरूको सक्रिय भूमिका अपरिहार्य रहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे