
काठमाडौं । अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमअन्तर्गत सन् २०२६ का लागि आयोजित लोटरीको नतिजा सार्वजनिक भइसकेको छ। अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको कन्सुलर अफेयर्स ब्यूरोले न्युयोर्क समयअनुसार शनिबार दिउँसो १२ बजे (नेपाल समय अनुसार शनिबार राति करिब ९:४५ बजे) नतिजा सार्वजनिक गरेको हो।
डिभी–२०२६ को आवेदन सन् २०२४ को अक्टोबर २ देखि नोभेम्बर ७ सम्म खुला गरिएको थियो। सो अवधिमा आवेदन दिएका व्यक्तिहरूले अब अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेबसाइट https://dvprogram.state.gov/ मा गएर “Check Status” लिंकमार्फत आफ्नो नतिजा जाँच गर्न सक्ने व्यवस्था गरिएको छ।
नतिजा हेर्नका लागि आवेदनकर्ताले आवेदन पछि प्राप्त गरेको कन्फर्मेसन नम्बर, थर (Last/Family Name), र जन्म वर्ष (Year of Birth) अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने हुन्छ। सो विवरणहरू सही तरिकाले प्रविष्ट गरेपछि डिभीमा नाम परेको वा नपरेको जानकारी देखिनेछ। छनोटमा परेका उम्मेदकाहरूका लागि भिसा प्रक्रियासम्बन्धी थप निर्देशनहरू पनि सोही वेबसाइटमार्फत उपलब्ध हुने बताइएको छ।
छनोटमा परेकाहरूले सन् २०२५ को अक्टोबर १ देखि भिसा प्रक्रिया सुरु गर्न पाउनेछन्। सो प्रक्रियामा चिकित्सकीय परीक्षण, आवश्यक कागजात संकलन, र अन्तर्वार्ता लगायतका चरणहरू पार गर्नुपर्नेछ। अमेरिकी विदेश मन्त्रालयले सन् २०२६ को सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गरिसक्नुपर्ने स्पष्ट पारेको छ। तोकिएको समयभित्र भिसा नलिएका उम्मेदवारहरूको अवसर स्वतः खारेज हुने मन्त्रालयले जनाएको छ।
यस्तै, मन्त्रालयले सबै आवेदकलाई कम्तीमा सन् २०२६ को सेप्टेम्बर ३० सम्म आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न आग्रह गरेको छ। कतिपय अवस्थामा प्राविधिक कारणले नतिजामा फेरबदल हुन सक्ने भएकाले त्यसको लागि पनि नम्बर सुरक्षित राख्न सुझाव दिइएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे