काठमाडौँ, १४ कार्तिक । सूर्यविनायक–रत्नपार्क द्रुत बससेवा बन्द भएको छ । तामझामकासाथ संविधान दिवसको दिन असोज ३ गतेदेखि शुरु भएको द्रुत बससेवा दशैँदेखि नै बन्द भएको हो ।
द्रुत मार्ग खाली गर्न ट्राफिक प्रहरीले आवश्यक सहयोग नगरेको व्यवसायीहरुले बताएका छन् । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले एक अर्कालाई दोष लगाएका छन् ।
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले भने दशैँदेखि तिहारसम्म काठमाण्डौ उपत्यकाका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको बताउनुभयो ।
द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालन रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ।
असोज ३ गतेदेखि द्रुत बस नमुना परियोजनाका रुपमा सेवा शुरु गरिएकोमा अब भने पूर्णरुपमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ । सेवा सञ्चालनका क्रममा देखिएका समस्याहरु हल गर्नेगरी मन्त्री ज्वालाले विभागका महानिर्देशकको नेतृत्वमा समिति पनि गठन गर्नुभएको छ ।
द्रुत बसको लेनमा अब डोरी लगाइने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताउनुभयो। रत्नपार्क–सूर्यविनायक चल्ने सबै सार्वजनिक बसहरु द्रुत लेनमा गुडेपछि बाँकी सडक लेन पनि खुल्ला हुने महानिर्देशक रिजालले बताउनुभयो।
काठमाडौँको जाम कम गर्ने, निजी सवारीसाधन नभएका नागरिकलाई सार्वजनिक सवारी साधनमा आकर्षित गर्ने उद्देश्यले द्रुत बस सेवा सञ्चालन गरिएको हो ।
द्रुत बस सेवा सञ्चालनका लागि सरकारले झण्डै साढे दुई करोड रुपैयाँ खर्च गरेर सडकमा ट्रयाक छुट्याउनका लागि रङ्ग पोतेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे