
काभ्रेपलाञ्चोक ।अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिको कार्य पुनःठेक्का प्रक्रियामा प्रवेश गर्न नसक्दा अन्योलमा परेको छ। सडक डिभिजन कार्यालय भक्तपुरले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेपछि नयाँ ठेक्का आह्वानका लागि अर्थ मन्त्रालयको सहमति पर्खिरहेको जनाएको छ।
चार किलोमिटर लम्बाइको सो सडकखण्डको निर्माण कार्य तोकिएको समयमा सम्पन्न नगरेपछि गत वर्ष फागुन १५ गते सडक डिभिजन कार्यालयले निर्माण कम्पनी गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो। निर्माण कम्पनीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि अदालतले ठेकेदारलाई कालोसूचीमा नराख्न, धरौटी रकम नजफत गर्न तथा सडकलाई हालको अवस्थामा यथावत् राख्न अन्तरिम आदेश दिएको थियो।
यस अन्तरिम आदेशले पुनःठेक्का आह्वान गर्न कुनै कानुनी अड्चन नरहेको प्रमुख डिजिनल सिनियर इन्जिनियर सुमन योगेशले बताए। “ठेक्का प्रक्रियाको सम्पूर्ण तयारी भइसकेको छ, मन्त्रालयको सहमति आउने बित्तिकै पुनःठेक्का खोल्नेछौँ,” उनले भने, “अर्थ मन्त्रालय बजेट तयारीमा व्यस्त भएकाले ढिलाइ भएको हुनसक्छ।”
२०७९ साल जेठ २० गते २२ महिनामा निर्माण सम्पन्न गर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का सम्झौता भएको उक्त सडकको निर्माण कार्य २०८० चैत १९ गतेभित्र सकिनुपर्ने थियो। तर ठेकेदार कम्पनीले निर्धारित अवधिभन्दा ११ महिना बढी समय बितिसक्दा पनि कुल कामको २५ प्रतिशत मात्र सम्पन्न गरेको थियो। पछिल्लो एक वर्षयता सडक निर्माणको काम प्रायः ठप्प रहेको थियो।
कार्यालयका अनुसार ठेकेदार कम्पनीले बुझाएको स्पष्टीकरण सन्तोषजनक नभएपछि ठेक्का रद्द गरिएको हो। हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्र सम्पन्न भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल बनाइएको छ। तर जिपलाइनदेखि खावासम्मको भागमा अझै कटिङ समेत बाँकी रहेको जनाइएको छ। गत वर्षको जेठमा सुरु गरिएको बेस तथा सब–बेसको काम वर्षाले बगाएपछि सडक खण्डहरमा परिणत भएको छ।
निर्माण ढिलाइका कारण यात्रुहरूलाई विगत दुई वर्षदेखि सास्ती खेप्नुपरेको छ। सडक भत्काइएका स्थानमा सवारी दुर्घटनामा वृद्धि भएको छ भने सयौँ यात्रु घाइते भएका छन्। सडकलाई १२ मिटर फराकिलो बनाई कालोपत्र गर्ने योजना अनुसार निर्माण थालिएको भए पनि काम ठप्प हुँदा योजनाको कार्यान्वयन प्रभावित भएको छ।
सडक डिभिजन कार्यालयले ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस राख्ने, त्यसमाथि दुई तहको कालोपत्र (डिबिएम र अस्फाल्ट) गर्ने नेपालमै पहिलोपटकको प्रविधि प्रयोग गर्ने योजना बनाएको थियो। धुलिखेल–खावा सडक अरनिको राजमार्ग हुँदै तातोपानी नाका, दोलखा र रामेछाप जोड्ने मुख्य मार्ग भएकाले यसको स्तरोन्नति अत्यन्तै आवश्यक मानिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे