
सो अवसरमा वर्ल्ड स्ट्रोक अर्गनाइजेशन, नेपाल स्ट्रोक एसोसिएशन र नेपाल स्ट्रोक प्रोजेक्टको विशिष्ट प्रतिनिधिमण्डलले धुलिखेल अस्पतालको भ्रमण गरेको थियो। भ्रमण टोलीमा WSO की रुपल सेदानी (Res-Q Global Manager & Global Certification Lead), जर्मनीस्थित GIZ Hospital Partnership Funding Programme की सल्लाहकार भेरा हल्लमान, नेपाल स्ट्रोक प्रोजेक्टकी परियोजना प्रबन्धक डा. रचना नकर्मी, नेपाल स्ट्रोक एसोसिएशनका अध्यक्ष डा. राजु पौडेल र नेपाल स्ट्रोक प्रोजेक्टकी आईसीयू नर्स जेसिका गोलिनिया समेत सहभागी थिए।
प्रतिनिधि टोलीले अस्पतालको स्ट्रोक युनिट, इमर्जेन्सी विभाग तथा अन्य स्वास्थ्य सेवा सुविधाको अवलोकन गर्दै अस्पतालमा भइरहेको गतिविधि र सुधार प्रयासबारे प्रत्यक्ष जानकारी लिएका थिए। भ्रमणका क्रममा दुवै पक्षबीच स्ट्रोक उपचारमा बहुक्षेत्रीय सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो।
अस्पताललाई प्रदान गरिएको प्रशंसा प्रमाणपत्रले यहाँ कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरूको समर्पण, दक्षता र अथक प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ। यसले धुलिखेल अस्पतालले स्ट्रोक उपचारमा उच्चस्तरीय, बिरामी–केन्द्रित सेवा प्रदान गर्दै आएको प्रमाणित गरेको छ।

धुलिखेल अस्पतालले स्ट्रोक उपचारमा प्रमाणित विश्व अभ्यास अपनाउँदै आएको छ। अस्पतालले रोकथामदेखि उपचार र पुनःस्थापनासम्मको प्रक्रियालाई व्यवस्थित गर्दै क्षमता अभिवृद्धि र बहु–क्षेत्रीय सहकार्यमा विशेष ध्यान दिएको छ। यसै कारण यो अस्पताल अब स्ट्रोक व्यवस्थापनमा नेपालकै मात्र नभई क्षेत्रीय स्तरमै उत्कृष्ट अस्पतालको रूपमा स्थापित हुँदै गएको छ।
अस्पताल प्रशासनले यस सम्मानलाई थप प्रेरणाको रूपमा लिँदै आगामी दिनमा अझ गुणस्तरीय र नवप्रवर्तनशील स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।








