
काठमाडौं । ऐतिहासिक धरहरा अब बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सर्वसाधारणका लागि खुला हुने भएको छ। साउन १ गतेदेखि लागू भएको नयाँ समय तालिकाअनुसार धरहरा दिनभर अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ।
२०७२ सालको विनाशकारी भूकम्पमा पूर्ण रूपमा ध्वस्त बनेको धरहरा संविधान दिवसको अवसरमा पुनःनिर्माणपश्चात आम जनसाधारणका लागि औपचारिक रूपमा खोलिएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा धरहराको पुनर्निर्माण थालनी भएको र पुनर्निर्माण सम्पन्न भई २०७८ साल वैशाख ११ गते ओलीकै हातबाट उद्घाटन गरिएको थियो।
सहरी विकास मन्त्रालयका अनुसार धरहराबाट हालसम्म ४ करोड ८३ लाख ६५ हजार रुपैयाँ आम्दानी भइसकेको छ। उक्त आम्दानी असार २४ गतेसम्मको तथ्यांकअनुसार हो।
धरहरामा प्रवेश गर्दा सर्वसाधारणले प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ। यद्यपि विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूका लागि ५० प्रतिशत छुट दिइएको छ, जसअनुसार उनीहरूले एक सय रुपैयाँ मात्र तिर्नुपर्छ। पर्यटकका हकमा भने फरक शुल्क व्यवस्था गरिएको छ— सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति ५ सय र अन्य मुलुकका पर्यटकले १ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ।
धरहरा परिसरमा पार्किङ सुविधा उपलब्ध गराइएको छ, जसका लागि हाल कुनै अतिरिक्त शुल्क लाग्ने छैन। काठमाडौंको सुन्धारामा अवस्थित धरहरा राजधानीको प्रमुख पर्यटकीय केन्द्रमध्ये एक मानिन्छ। समय तालिकामा भएको परिवर्तनले अझ बढी अवलोकनकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे