
कैलाली, चिसापानी —आईएमई गु्रपका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा एक टोली हाइकिङ गर्दै कैलालीको चिसापानीस्थित निर्माणाधीन जाल्पादेवी केवलकार परियोजनाको टप स्टेशनसम्म पुगेका छन्। हरियालीले भरिएको रमणीय वातावरणमा गरिएको यो पदयात्राले सहभागीहरूलाई निकै सन्तुष्टि दिएको थियो।
प्राकृतिक सुन्दरताले भरिपूर्ण मार्ग हुँदै टप स्टेशनमा पुगिसकेपछि, टोलीले त्यहाँबाट देखिने कर्णाली नदी, नमुना पुल, साथै बर्दिया, कैलाली, सुर्खेत जिल्लाका विभिन्न भू-भागहरू, हिमाली शृंखला र तराईको मनोरम दृश्यको अवलोकन गरेको थियो। उक्त दृश्यले ढकाल स्वयं पनि अत्यन्त प्रभावित भएको बताइएको छ।
आईएमई गु्रप द्वारा प्रवर्द्धनमा ल्याइएको यो केवलकार परियोजना सुदूरपश्चिम प्रदेशको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। टोलीले निर्माण प्रगति बारे जानकारी लिँदै परियोजनाको गुणस्तर, समयसीमा र सम्भावित प्रभावका बारेमा समेत छलफल गरेको थियो।
चन्द्र प्रसाद ढकालले सामाजिक सञ्जालमार्फत नेपालका प्राकृतिक स्रोत र पर्यटकीय सम्भावनाको प्रशंसा गर्दै लेखेका छन्, “वास्तवमै अलौकिक छ नेपालको प्राकृतिक सौन्दर्य।”
जाल्पादेवी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन पूर्वाधारमा लगानीविना पर्यटन क्षेत्रले अपेक्षित सफलता हासिल गर्न नसक्ने बताउनुभएको थियो। उहाँले नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै यस परियोजनाले केवलकार पर्यटन सर्किटको लक्ष्यमा नयाँ ऊर्जा थपेको बताउनुभएको थियो।
ढकालले निर्माण प्रक्रिया सहज बनाउन स्थानीय समुदाय, राजनीतिक दल र सरकारी निकायहरूबाट प्राप्त सहयोगलाई उदाहरणीय उल्लेख गर्नुभएको थियो।
उक्त परियोजनाअन्तर्गत ३.१ किलोमिटर लामो केवलकार लाइनमा ३४ वटा गोन्डोला रहने छन्। कुल ५ अर्ब रुपैयाँको लगानीमा बटम स्टेसनमा केवलकार स्टेशनसँगै होटल, क्यासिनो, बैंक्वेट हल निर्माण गरिने योजना रहेको छ। उता, टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वाकिङ ट्रेल, रेस्टुरेन्ट र चिल्ड्रेन पार्कसहितका विभिन्न पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण गरिने योजना तय गरिएको छ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका–३ स्थित कर्णाली चिसापानीबाट प्रारम्भ हुने यस केवलकार परियोजनाको औपचारिक रुपमा शिलान्यास गर्नुभएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे