
काठमाडौँ । धादिङमा पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा घाइते २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल, कलंकीमा उपचार भइरहेको छ। उपचारका लागि ल्याइएका २३ जनामध्ये एक जना घाइतेको मृत्यु भइसकेको छ।
नेशनल अस्पताल कलंकीमा उपचाररत ९ पुरुष र १ महिला यात्रु छन् भने ट्रमा सेन्टरमा ७ पुरुष र ५ महिला उपचाररत छन्। नेशनल अस्पतालमा रहेका यात्रुमा राजेश कुँवर, सुविन मल्ल, प्रतिभा पौडेल, चन्द्रआशिष फुँयाल, संगम मल्ल, प्रमिला भट्टराई, डम्मरबहादुर विक, कृष्ण तिवारी, सुनम गुरुङ र राजेन्द्र बिसुन्के रहेका छन्। ट्रमा सेन्टरमा उपचाररतमध्ये चिनियाँ नागरिक कि मिसि हाउ, एन्जी शेर्पा, सोमप्रसाद मल्ल, विपिन मानन्धर, पुजा फुयाल, सचिन्द्र सुनार, प्रदीप लामिछाने, नोर्बु पाल्देन, स्वर्णीमा खत्री, सलिना परियार, मानबहादुर थापा र लङ्साङ्गोली लामा छन्।
धादिङ दुर्घटनामा हालसम्म १८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। प्रहरीले घाइतेहरूको उपचारमा ध्यान दिइरहेको र परिवारजनलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे