
काभ्रेपलाञ्चोक, असोज — बागमती प्रदेशमा गत २०८१ सालको असोज दोस्रो सातामा भएको अविरल वर्षापछि आएको बाढीपहिरोबाट सबैभन्दा बढी जनधनको क्षति भएको काभ्रेपलाञ्चोक जिल्लामा सरकारले सात महिनापछि विस्तृत क्षति आकलन सुरु गरेको छ।
गृह मन्त्रालयले सबैभन्दा बढी प्रभावित रहेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलनको कार्यको थालनी गरेको हो। बुधबार गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ स्थित नारायणटारबाट यो प्रक्रिया औपचारिक रूपमा सुरु गरेका छन्।
सुरुआतको दिन गृहमन्त्रीले सो वडाका तीन जना पीडित—धनसिंह लामा, राजन बोहोरा क्षेत्री र शुभद्रा सेञ्चुरीलाई क्षति आकलन निस्सा प्रदान गरेका थिए। त्यसक्रममा मन्त्री लेखकले उक्त पालिकामा प्रत्यक्ष अवलोकनसमेत गरेका थिए।
गृहमन्त्री लेखकले प्रक्रियागत ढिलाइका कारण पुनर्निर्माण कार्य अघि बढ्न नसकेको स्वीकार गरेका छन्। उनले अस्थायी आवास निर्माणका लागि दुई चरणमा रु ५० हजारका दरले र स्थायी घर निर्माणका लागि क्रमशः अनुदान दिने निर्णय भएको जानकारी दिएका छन्।
सरकारले बुधबार मात्र काभ्रेपलाञ्चोक जिल्लाका लागि अस्थायी आवास निर्माणसम्बन्धी सात करोड ३५ लाख रुपैयाँ निकासा गरेको छ भने विस्तृत क्षति आकलनका लागि १८ जना प्राविधिक खटाएको छ। कार्यको प्रभावकारीताका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेष ध्यान दिन भनिएको छ।
रोशी गाउँपालिकामा पाँच सय ६३ वटा घरमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ। त्यहाँ तीनवटा क्लस्टर बनाएर प्राविधिकहरूले क्षतिको स्थलगत मूल्याङ्कन सुरु गरिसकेका छन्।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विस्तृत क्षति आकलनपछि पुनर्निर्माण कार्य अघि बढ्न सहज हुने विश्वास व्यक्त गरेका छन्। उनले निजी आवाससँगै पुल, भौतिक संरचना र तटबन्धनजस्ता पूर्वाधार निर्माणमा समेत सरकारले सहयोग पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले पीडितले चाहेमा अस्थायी र स्थायी आवासको निर्माण एकैपटक गर्न सकिने बताए पनि विस्तृत क्षति आकलन अनिवार्य भएको स्पष्ट पारेका छन्।
उनले यसअघि स्थानीय तहले प्राधिकरणको पोर्टलमा प्राथमिक विवरण प्रविष्ट गरिसकेको र अबको विस्तृत तथ्याङ्कबाट राहत तथा अनुदान वितरण थप प्रभावकारी हुने उल्लेख गरेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले भने आउँदो वर्षाअघि रोशीमा पुग्ने सडक निर्माणमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन्। उनले फलामेटारस्थित बाँकी रहेको पुल जोगाउन नसकिएमा पुनर्निर्माण कार्यमा थप समस्या देखिन सक्ने चेतावनी दिएका छन्।
उक्त बाढीपहिरो घटनामा काभ्रेपलाञ्चोकमा ८१ जनाको ज्यान गएको छ भने छ जना अझै बेपत्ताको सूचीमा रहेका छन्। जिल्लाभर अर्बौँ मूल्य बराबरका भौतिक संरचना, पुल, अस्पताल, विद्यालय र सङ्ग्रहालय जस्ता पूर्वाधारहरूमा व्यापक क्षति पुगेको छ।
सबैभन्दा बढी जनधनको क्षति रोशी गाउँपालिका, बेथानचोक गाउँपालिका र पनौती नगरपालिकाको रोशी क्षेत्रमा भएको उल्लेख गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे