
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री तोसिमा कार्कीले पार्टीभित्र देखिँदै आएको आफन्तवाद र नातावादको कडा विरोध गर्दै त्यसको पूर्ण अन्त्य गर्न माग गरेकी छन्। उनले समानुपातिक बन्दसूचीमा समावेश व्यक्तिहरूलाई उक्त सूचीबाट नाम हटाएर प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न सार्वजनिक रूपमा आह्वान गरेकी हुन्।
कार्कीले समानुपातिक प्रतिनिधित्वको मूल उद्देश्य भौगोलिक विकटता, पहुँच र शक्ति नभएका तर सक्षम व्यक्तिहरूलाई राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नु भएको बताइन्। समानुपातिक सूचीले विपन्न वर्ग, कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्र तथा गाउँ–समुदायको आवाज बोल्नुपर्ने उनको धारणा छ। तर पार्टी नेतृत्वसँग नजिकका व्यक्ति तथा पार्टीका ‘भाइटल पोजिसन’मा रहेका व्यक्तिहरू नै समानुपातिक सूचीमा प्राथमिकताका साथ आकांक्षी बन्नुले प्रणालीको औचित्यमाथि प्रश्न उठाएको उनले उल्लेख गरिन्।
उनले पार्टी सचिवालय सदस्य तथा पदाधिकारीहरू सधैँ ‘पोजिसन अफ बेनिफिट’मा रहने अवस्था रहेको उल्लेख गर्दै प्राथमिक निर्वाचन वा मूल्यांकन प्रक्रियामा समेत उनीहरूलाई लाभ हुने गरेको टिप्पणी गरिन्। पार्टीको महाधिवेशन नभएसम्म हालका पदाधिकारी र सचिवालय सदस्यहरू निर्वाचनबाट नभई नियुक्तिमार्फत आएका भन्दै उनीहरूले पार्टीभित्र पद धारण गर्दै निर्वाचनमा समेत समानुपातिक सूचीको अग्रपङ्क्तिमा नाम सुरक्षित गर्नु पुराना दलको प्रवृत्तिभन्दा फरक नदेखिएको कार्कीको भनाइ छ।
कार्कीले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने साहस देखाउनुपर्नेमा जोड दिँदै पार्टी ठूलो भइसकेको अवस्थामा नेतृत्व किन असुरक्षित महसुस गरिरहेको भन्ने प्रश्न उठाइन्। उदाहरणीय राजनीतिक अभ्यासका लागि सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले आ–आफ्नो नाम समानुपातिक सूचीबाट हटाई प्रत्यक्ष चुनाव लड्नुपर्ने र समानुपातिक सूचीमा आफन्तवाद तथा नातावादलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने उनको माग छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे