
कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा देखिएको अनियमितता सम्बन्धमा न्यायिक छानबिन आवश्यक भएको धारणा राखेका छन्।
प्रेस सेन्टर नेपाल, कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले हालै संसदीय छानबिन उपसमितिबाट पेश गरिएको प्रतिवेदनका आधारमा गम्भीर न्यायिक प्रक्रिया अघि बढाइनुपर्ने तर्क प्रस्तुत गरेका थिए। प्रतिवेदनमा उल्लेख गरिएका विषयहरूलाई नीतिगत रूपमा गम्भीर मान्दै गुरुङले कानुनविद्, इञ्जिनियर, प्राविधिक तथा अनुसन्धानकर्ताहरूको सहभागितामा विशेष न्यायिक टोली गठन गरेर यथार्थ छानबिन गरिनुपर्ने बताएका छन्।
उनका अनुसार दोषी देखिएका व्यक्तिहरू कानुनी दायरामा ल्याएर आवश्यक कारबाहीको प्रक्रिया सुरु गरिनुपर्छ भन्ने माओवादी केन्द्रको धारणा रहँदै आएको छ।
त्यस अवसरमा उनले वर्तमान दुई ठूला दल—नेपाली कांग्रेस र नेकपा (एमाले)—को गठबन्धन सरकारका सकारात्मक काममा आफ्नो पार्टीले सधैं समर्थन जनाउँदै आएको स्मरण गराएका थिए। तर, उनले बलियो राजनीतिक हैसियत भए पनि सरकारले उल्लेख्य सुधार गर्न नसकेको टिप्पणी पनि गरेका छन्।
महासचिव गुरुङले आफ्नो पार्टी परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले अघि बढेको दाबी गर्दै गुण र दोषको मूल्याङ्कनको आधारमा समर्थन वा विरोध गर्ने नीति अवलम्बन गरिएको स्पष्ट पारेका थिए।
उनले शान्ति प्रक्रिया सुरुवातदेखि सहयात्री रहेका दलहरूबीच अहिले पनि राष्ट्रिय स्वाधीनता, एकता र प्रतिगमनविरुद्धको संघर्षमा साझा धारणा बनाउनु अपरिहार्य भएको औंल्याएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे