
काठमाडौं। अष्ट्रेलियाको सिड्नी शहरमा भएको भीषण गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। घटनामा कैयौँ मानिस घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। सो प्रकरणमा बाबु र छोरा संलग्न भएको सिड्नी प्रहरीलाई उद्दत गर्दै बिबीसीले जनाएको छ। गोली चलाउने बाबु(छोरा मध्ये ५० बर्षीय बाबुको मृत्यु भएको छ भने २४ बर्षीय छोराको उपचार भइरहेको र उनको पनि अवस्था गम्भीर रहेको बिबीसीले उल्लेख गरेको छ ।
घटना सिड्नीको व्यस्त क्षेत्रमध्ये एक स्थानमा भएको हो, जहाँ ठूलो संख्यामा मानिसहरूको आवतजावत भइरहेको थियो। अचानक भएको गोलीकाण्डपछि क्षेत्रभर त्रासको वातावरण फैलिएको थियो। प्रत्यक्षदर्शीका अनुसार केही मिनेटमै गोलाबारी हुँदा मानिसहरू ज्यान जोगाउन भागाभाग गरेका थिए। घटनापछि अष्ट्रेलियाली प्रहरीले तत्काल सुरक्षा घेरा कडा बनाउँदै घटनास्थल नियन्त्रणमा लिएको छ। घाइतेहरूलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने आशंका रहेको छ।
प्रहरीले आक्रमणकारीको पहिचान र गोलीकाण्डको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ। प्रारम्भिक अनुसन्धानअनुसार घटना व्यक्तिगत विवाद, आतङ्ककारी गतिविधि वा मानसिक स्वास्थ्य समस्यासँग सम्बन्धित हुनसक्ने अनुमान गरिएको छ, तर यसबारे आधिकारिक पुष्टि भइसकेको छैन।
अष्ट्रेलियाका प्रधानमन्त्रीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, सरकारले दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे