
काठमाडौँ । नबिल बैक, प्रमुख कार्यकारी मनोज ज्ञवालीले हालको राजनीतिक अवस्था देशका लागि चुनौतीपूर्ण भएको बताएका छन्। ज्ञवालीले आफ्नो फेसबुक वालमा पनि यस सम्बन्धमा गम्भीर विचार ब्यक्त गरेका छन्।
ज्ञवालीका अनुसार, आजका नयाँ र पुराना नेताहरुबीचको अन्तर बुझ्न कठिन छ, तर वर्तमान परिस्थितिमा नागरिकले राजनीतिक नेताबाट केवल आलोचना र सपनाका कुरा मात्र सुन्नु पर्याप्त नहुने बताएका छन्।
फेसबुकमा उनले लेखेका छन्, “राजनीति र राजनेताका कारण देश झन् कठिन मोडतर्फ उन्मुख हुँदैछ। जसले चर्को स्वरमा पुराना नेताहरूको आलोचना गर्न सक्छ, ऊही भाइरल र विश्वासिलो ठानिन्छ। तर आफुले गरेको काम वा योगदान, देश निर्माणको कार्ययोजना, साधन स्रोतको व्यवस्थापन र नीति आवश्यक पर्ने होइन ?”
ज्ञवालीले पुराना नेताहरूको कमजोरीलाई उदाहरणका रूपमा उल्लेख गर्दै भने, “आजका पुराना नेताहरू कुनै दिन नयाँ थिए, र आजका नयाँ नेताहरू पनि एक दिन पुराना हुनेछन। पुराना नेताहरू जब नयाँ थिए, तत्कालीन पुरानालाई आलोचना गरे, सपना बेच्ने काम गरे, तर ती सपना पुरा भएनन् किनभने तथ्यपरक योजना थिएन।”
उहाँले थपे, “बाचा पुरा नगर्दा पनि उनीहरूले आत्मालोचना गरेनन् वा योग्य साथीहरूलाई जिम्मेवारी दिएर काम सहज बनाउने प्रयास गरेनन्। यही कमजोरीका कारण नागरिकमा चरम निरासा र वितृष्णा फैलियो। हामी सबैले यो कुरा गम्भीरतापूर्वक मनन गर्नुपर्छ।” गाली गर्नु वा अरुको दोष केलाउनु सजिलो छ, तर घर वा सानो संस्था चलाउन कठिन छ भने देश चलाउनु अझ कठिन छ। पुराना नेताहरूको कमजोरी नयाँ नेताहरूको शक्ति बन्न सक्दैन। देश निर्माणका लागि साधन स्रोतको तथ्यपरक कार्ययोजना र नागरिकको विश्वास आवश्यक छ।”
सुझाव दिदै “देश बनाउने इच्छाशक्ति राख्ने साथीहरूले पहिले तथ्यपरक योजना तयार पार्नुपर्छ र त्यसको आधारमा मात्र सपना बेच्नुपर्छ। पुरानाको कमजोरीलाई दोष दिनु इतिहासलाई कालो बनाउने कार्य हो, निरासा थप्ने काम हो। अझै सबै कुरा बिग्रिसकेको छैन – नेता र जनता दुवैले नियत सफा राख्दै विवेकको प्रयोग गर्नु आवश्यक छ।”

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे