
एजेन्सी। विश्व फूटबलका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले अमेरिकाको सबैभन्दा शक्ति सम्पन्न स्थलमध्ये एउटा मानिने व्हाइट हाउसको ‘की टु द व्हाइट हाउस’ प्राप्त गरेका छन्। राष्ट्रपति पदमा पुनः बसेका अमेरिकाका डोनाल्ड ट्रम्पले हालै व्हाइट हाउसमा आयोजना गरिएको उच्चस्तरीय औपचारिक डिनर कार्यक्रममा रोनाल्डोलाई विशेष सम्मान प्रदान गरेका हुन्। उक्त डिनर साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मानमा आयोजना गरिएको थियो।
कार्यक्रममा रोनाल्डो सहित अन्तर्राष्ट्रिय प्रभाव भएका अनेकौँ विशिष्ट अतिथिहरू उपस्थित थिए। प्रवेशपछि राष्ट्रपति ट्रम्पले रोनाल्डोलाई विशेष रूपमा स्वागत मात्र गरेनन्, कार्यक्रमस्थलमा आएका प्रमुख पाहुनाहरूसँग पनि व्यक्तिगत रूपमा परिचय गराए। ट्रम्पले आफ्नो ‘विशेष पाहुना’ भन्दै रोनाल्डोलाई प्रस्तुत गरेपछि सभागृहमा थप उत्साहको माहोल देखिएको थियो।
रोनाल्डो हाल साउदी प्रो लिगमा अल नसर क्लबका खेलाडी रहेका कारण उनको उपस्थिति साउदी–अमेरिका कूटनीतिक तथा आर्थिक सम्बन्धसँग पनि जोडिएको बताइन्छ। फुटबलमार्फत वैश्विक स्तरमा साउदीको प्रभाव विस्तार गर्ने योजनामा रोनाल्डो महत्वपूर्ण ब्रान्ड एम्बेसडरका रूपमा स्थापित भइसकेका छन्। यही कारण पनि साउदी क्राउन प्रिन्सको सम्मानार्थ आयोजित डिनरमा उनको सहभागीता विशेषरूपमा हेरिएको हो।
सो पहिचान प्रतीकात्मक सम्मान मानिए पनि ‘की टु द व्हाइट हाउस’ अमेरिकामा अत्यन्त उच्च सम्मानको सूचक मानिन्छ। यो सम्मान प्रतिष्ठित र विश्वभर प्रभाव राख्ने व्यक्तित्वहरूलाई मात्र प्रदान गरिने गरिएको छ।
डिनरअघि तथा पछि खिचिएका केही तस्वीरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि रोनाल्डोका प्रशंसकहरूद्वारा व्यापक रूपमा शेयर गरिएको छ। यसले उनी फूटबल जगतका मात्र नभई विश्व राजनीतिका महत्वपूर्ण समारोहहरूमा पनि अविभाज्य पात्र बनेको पुष्टि गरेको विश्लेषकहरूको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे