
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रविधि उद्यमी एलन मस्कबीचको सम्बन्धमा चिसोपना आएको छ। पछिल्लो केही घण्टायता दुबै पक्ष सामाजिक सञ्जालमार्फत खुलेर वाकयुद्धमा उत्रिएका छन्। राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै मस्कले आफ्नो कर र खर्च विधेयकप्रति सार्वजनिक रूपमा आलोचना गरेकोप्रति “धेरै आश्चर्यचकित” र “निराश” भएको बताएका थिए।
ट्रम्पको भनाइपछि एलन मस्कले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म एक्स मार्फत एकपछि अर्को पोस्ट गर्दै कडा प्रतिउत्तर दिए। उनले ट्रम्पविरुद्ध महाभियोगको समेत सुझाव दिएका थिए। मस्कको तीव्र प्रतिक्रिया पछि राष्ट्रपति ट्रम्पले मस्कका कम्पनीहरूसँग भएका सरकारी सम्झौताहरू कटौती गर्ने धम्की दिए।
यस वाकयुद्धको प्रभाव वित्तीय बजारमा पनि देखिएको छ। अमेरिकी बजारमा टेस्लाको शेयर मूल्य १४ प्रतिशतभन्दा बढीले घटेको छ। यसले लगानीकर्ताहरूमा समेत व्यापक असर पारेको छ।
विवाद थप चुलिदै जाँदा केही घण्टापछि मस्कले अमेरिकी अन्तरिक्ष यात्रीहरूले प्रयोग गर्दै आएको SpaceX को एक महत्वपूर्ण अन्तरिक्ष यान डिकमिशन गर्ने भनाइ फिर्ता लिएका छन्। हाललाई स्थिति केही सहज देखिए पनि दुबै शक्तिशाली पात्रबीचको यो तनाव निकट भविष्यमै फेरि उग्र रुप लिन सक्ने विश्लेषकहरू बताउँछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे