
काठमाडौं, ९ फागुन । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा सदनबाट अनुमोदन गर्न नदिने बताएका छन् ।
सदनमा एमालले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने बताइएको छ। एमालेले राखेको माग सम्बोधनविना हुने कुनै पनि संसदको कार्यसूचीमा सहभागी नहुने उनले बताए ।
एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जनाको सांसदबाट पदमुक्त नगरेसम्म एमालेले संसदमा अवरोध कायमै राख्ने भन्दै उनले यसबीचमा बैठकमा पेस हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने बताए ।
आफूहरूको माग सम्बोधन भएपछि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा एमालेले निर्णय गर्ने प्रमुख सचेतक भट्टराईले न्युज कारखानासँग भने ।
‘संसदमा निकास निस्किएपछि मात्र सदनमा टेबुल भएको एमसीसीको सम्बन्धमा निर्णय लिन्छौं,’ उनले भने ।
एमालेले संसद सचिवालयमा एमसीसी दर्ता गराए पनि कांग्रेस र माओवादी केन्द्रले कार्यान्वयनको लागि सम्झौता गरेकोले एमालेको भूमिका कम हुने उनले बताए ।
एमसीसीभन्दा पनि आफुहरूले राखेको माग ठूलो भएकोले पहिला आफूको माग सम्बोधनमा सभामुखले ध्यान दिनुपर्नेमा उनको भनाइ छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एमसीसीको समर्थन वा विरोधमा खुलेर बोलेको छैन भने आइतबार संसद बैठकमा पनि एमालेको विरोधकै बीच एमसीसी टेबुल भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे