
काठमाण्डौ। नेपाल सरकारले एमपक्स संक्रमणको जोखिमलाई नियन्त्रणमा राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक बैठक आयोजना गरी सजगता र समन्वयका लागि प्रभावकारी प्रणाली निर्माण गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमानस्थलको हेल्थ डेस्कमार्फत विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको निगरानीलाई थप प्रभावकारी बनाउँदै शंकास्पद यात्रुहरूको पहिचानमा ध्यान केन्द्रित गरेको छ। साथै, यात्रुहरूलाई एमपक्सबारे सचेतनामूलक जानकारीसमेत प्रदान गरिएको छ।
मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक संक्रमित बिरामीको सफलतापूर्वक उपचार सम्पन्न गरेको जानकारी दिएको छ। अर्का संक्रमित बिरामीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।
देशका १७ अस्पतालमा एमपक्ससम्बन्धी सम्पर्क चिकित्सक तोकिएको र तिनीहरूलाई पहिचान, उपचार, तथा रोकथामका लागि प्रशिक्षण प्रदान गरिएको छ। साथै, संक्रमित देशका दूतावासहरूसँग समन्वय गरेर नेपालीलाई जोखिममा पर्न नदिन सचेतनामूलक गतिविधि सञ्चालन गरिएको छ।
मन्त्रालयले एमपक्स संक्रमणबाट जोगिने उपाय र शंकास्पद बिरामीबारे जानकारी दिन “हेल्लो हेल्थ” को टोलफ्री नम्बर १११५ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
साथै, मन्त्रालयले संक्रमण रोकथामका लागि विश्व स्वास्थ्य संगठन (WHO) सँग समेत समन्वय गरी आवश्यक कदमहरू चालेको जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे