
काठमाडौँ, ५ पुस। नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुनेभएको छ ।
संस्थापन पक्षबाट पाँच पटक सभापति रहेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेताको चुनावमा प्रतिस्पर्धामा गर्दैछन् । देउवालाई संसदीय दलको नेताको लागी बरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गरेका छन् । महामन्त्री थापा भने संस्थापन इतर समुहबाट पहिलो पटक संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न लागेका हुन् । थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थकको रुपमा धनराज गुरुङ र विश्वप्रकाश शर्मा छन् ।
कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही व्यक्ति प्रधानमन्त्रीको उम्मेदवार बन्ने अभ्यास छ ।
कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ जना र समानुपातिकतर्फ ३२ जना गरी ८९ सांसद रहेका छन् । संसदीय दलको विधानअनुसार निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे