
काठमाडौँ । विश्वप्रकाश शर्माले देश बदल्न आफू पनि बदलिन सक्ने शक्ति आवश्यक हुने बताएका छन् । सोमबार दमौलीमा नेपाली कांग्रेस तनहुँले आयोजना गरेको चुनावी सभामा उनले वर्तमान कठिन अवस्थाबाट देशलाई निकास दिन सक्ने क्षमता कांग्रेससँग मात्र रहेको दाबी गरे ।
“जो बदलिन सक्छ, उसैले देश बदल्न सक्छ,” भन्दै शर्माले कांग्रेसले जित र हार दुवै भोगेको तर इतिहासका कठिन घडीमा देश सम्हाल्ने जिम्मेवारी लिँदै आएको बताए । भदौ २३ र २४ गतेको आन्दोलनमा ७४–७५ जना जेनजी युवाले ज्यान गुमाएको दुःखद घटना स्मरण गर्दै उनले समाजले भोगेको पीडालाई गम्भीर रूपमा बुझ्नुपर्ने धारणा राखे । “आमाको काख रित्तियो, संरचनाहरू जले र समाज भावनात्मक रूपमा टुक्रियो,” उनले भने ।
शर्माका अनुसार चुनाव दलगत जित–हार मात्र नभई संकटमा देशलाई शान्ति, समन्वय र संविधानको बाटोमा लैजान सक्ने परिपक्व शक्तिको परीक्षा हो । इतिहासका विभिन्न कालखण्डमा कांग्रेसले समन्वय गरेर देशलाई निकास दिएको उदाहरण पनि उनले प्रस्तुत गरे ।
पार्टीभित्र सुधार र पुस्तान्तरण भइसकेको बताउँदै उनले कांग्रेस अब पुरानै ढाँचाको पार्टी नभएको दाबी गरे । उनले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि बढाउनुपर्ने विचार पनि व्यक्त गररे । सभामा तनहुँ–१ का उम्मेदवार गोविन्द भट्टराईले विकासका योजना सार्वजनिक गरे भने अन्य नेताहरूले कांग्रेस उम्मेदवारलाई जिताउन मतदातासमक्ष अपिल गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे