
काठमाण्डौ। एसिया र प्रशान्त क्षेत्र जलवायु परिवर्तनको गम्भीर प्रभावको सामना गरिरहेका बेला ‘क्षेत्रीय जलवायु युवा संसद’ (RYPCA) को पहिलो दिन जलवायु संकटको विषयमा व्यापक छलफल भएको छ। १२ देशका ३० वर्षमुनिका १५ युवा नेताहरू यस संवादमा सहभागी भएका थिए।
गत सेप्टेम्बर २०२४ देखि महिनामा दुई पटक निरन्तर भर्चुअल छलफल गरिरहेका यी युवा नेताहरू पहिलो पटक प्रत्यक्षरूपमा भेला भएका हुन्। कार्यक्रममा सहभागीहरूले आ–आफ्ना देशहरूमा जलवायु परिवर्तनका प्रभाव, न्यूनीकरणका प्रयास र नवीन समाधानहरूबारे अनुभव आदानप्रदान गरेका छन्।
नेपालका सन्दर्भमा, जलवायु संकटप्रति सरकारको नीति निर्माणमा उल्लेख भए पनि व्यवहारमा यसलाई पूर्ण रूपमा आत्मसात् नगरिएको निष्कर्ष निकालिएको छ। समाजस्तरमा समेत यसको गम्भीरता पर्याप्त रूपमा बुझिनसकेको युवा नेताहरूको ठहर छ। बाढी, पहिरो, हिमालमा हिउँको कमी र कृषिमा उत्पादन घट्दै जानुजस्ता घटनाहरूलाई जलवायु परिवर्तनका प्रत्यक्ष संकेतका रूपमा हेर्नुपर्नेमा उनीहरूको जोड रहेको छ।
कार्यक्रममा सहकार्य र समन्वयलाई प्रमुख उपायका रूपमा प्रस्तुत गर्दै, युवा नेताहरूले भविष्यका रणनीति तयार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले जलवायु संकटलाई बेवास्ता गर्न नसकिने भन्दै, अबको पुस्ताले एकजुट भएर ठोस समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्।
यो संवादले सहभागीहरूलाई सिक्ने, योजना बनाउने र व्यवहारिक कदम चाल्ने अवसर प्रदान गरेको छ। उनीहरूका अनुसार, जलवायु संकट न्यूनीकरणका लागि सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायबीच थप सहकार्य आवश्यक छ। युवा नेताहरूले यो यात्रा अझ प्रभावकारी बनाउन निरन्तर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे