
काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ७ को उपदफा (२) अनुसार राष्ट्रिय स्रोत अनुमान समितिको संरचना तथा कार्यविधि तोकिएको छ।
नियमावलीअनुसार राष्ट्रिय स्रोत अनुमान समिति योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहनेछ। आयोगका समष्टिगत आर्थिक क्षेत्र हेर्ने सदस्य संयोजकका रूपमा रहने व्यवस्था गरिएको छ। समितिमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिव, महालेखा नियन्त्रक तथा योजना आयोगका सदस्य-सचिव सदस्यका रूपमा रहने उल्लेख गरिएको छ।
समितिको बैठक आवश्यकता अनुसार संयोजकले तोकेको मिति, स्थान तथा समयमा बस्ने व्यवस्था गरिएको छ। साथै, बैठक सञ्चालन सम्बन्धी कार्यविधि समिति आफैंले निर्धारण गर्ने प्रावधान ऐनमा समावेश गरिएको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअन्तर्गत गठन गरिएको राष्ट्रिय स्रोत अनुमान समितिले नेपाल सरकार, प्रदेश तथा स्थानीय तहको खर्च, राजस्व, वैदेशिक सहायता र आन्तरिक ऋण परिचालनको अवस्थाको समीक्षा गर्दै उपलब्ध हुन सक्ने स्रोतको आँकलन गर्ने जिम्मेवारी पाएको छ।
समितिले आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी तीन आर्थिक वर्षका लागि खर्च अनुमान गर्नेछ। सम्भावित आर्थिक वृद्धि, राजस्व तथा अन्य स्रोत परिचालनका परिदृश्यहरूको विश्लेषण गर्नुका साथै समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्वको मूल्यांकन गर्ने प्रावधान समितिको कार्यक्षेत्रमा समावेश गरिएको छ।
त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्थाको अध्ययन गरी त्यसले राजस्व, वैदेशिक सहायता तथा आन्तरिक ऋण परिचालनमा पार्न सक्ने प्रभावको मूल्यांकन गर्ने समितिको प्रमुख जिम्मेवारी रहनेछ। स्रोत अनुमान तथा खर्चको सीमा निर्धारण गर्दै मध्यमकालीन समष्टिगत वित्तीय खाका तयार पार्ने समितिको दायित्व तोकिएको छ।
सङ्घ, प्रदेश तथा स्थानीय तहमा प्राप्त हुन सक्ने कुल राष्ट्रिय स्रोत अनुमान र आवश्यक खर्चबीच सन्तुलन कायम गर्न समितिले आवश्यक नीति तथा सिफारिसहरू तयार पार्नेछ। साथै, कुल खर्चको सीमाभित्र मन्त्रालयगत खर्चको बाँडफाँट गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता, राष्ट्रिय प्राथमिकता, नागरिकको जीवनस्तर वृद्धि, रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरणका लागि स्रोत सुनिश्चित गर्न समितिले पहल गर्नेछ।
राष्ट्रिय स्रोत अनुमान समितिले स्रोत अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयमा पेस गर्ने जिम्मेवारी निर्वाह गरेको छ।
समितिले स्रोतको अनुमान गर्दा मुलुकको जनसङ्ख्या तथा जनसाङ्ख्यिक बनावटको विस्तृत विश्लेषणसमेत गर्ने व्यवस्था नियमावलीमा उल्लेख गरिएको छ। यसका साथै, प्रारम्भिक स्रोत अनुमान गर्दा कायम आर्थिक परिस्थितिभन्दा बजेट तर्जुमा प्रक्रियामा फरक परिस्थिति सिर्जना भएमा स्रोत तथा खर्च सीमाको पुनरावलोकन गर्ने अधिकार समितिलाई दिइएको छ।
समितिले संघ, प्रदेश तथा स्थानीय तहको सम्भावित खर्च तथा स्रोत व्यवस्थापनको आँकलन गर्दै नीति निर्माणमा सहयोग पुर्याउने प्रतिवेदन तयार पारेको छ। मुलुकको आर्थिक स्थायित्व तथा दिगो वित्तीय व्यवस्थापनलाई सुनिश्चित गर्न स्रोतको यथार्थपरक अनुमान गर्दै सरकारलाई मार्गदर्शन प्रदान गर्ने समितिको मुख्य उद्देश्य रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे