
वीरगंज,। वीरगंज महानगरपालिका अन्तर्गत विभिन्न वडामा हैजाको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। भदौ ८ गतेसम्म प्राप्त विवरणअनुसार वडा नं. ३, ११, १२, १३ र १६ का १९४ जना बासिन्दामा झाडापखाला को लक्षण देखिएको छ। तीमध्ये केही बिरामी उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ९५ जना विभिन्न स्वास्थ्य संस्थामा उपचाररत रहेका छन्।
नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, आशाराम अस्पतालसहितका स्वास्थ्य संस्थाहरूमा २२ जना आईसीयूमा, ६ जना एचडीसीयूमा र ६७ जना सामान्य वार्डमा छन्। भदौ ६ गते संकलित नमूनामध्ये Rapid Diagnostic Test (RDT) बाट ७१ जनामा हैजा पुष्टि भएको छ।
स्रोत पहिचानका लागि संकलित ३२ वटा दिसा नमूना प्रादेशिक तथा राष्ट्रिय प्रयोगशालामा पठाइएको छ। त्यस्तै, तीन वटा पानीका नमूनामा पनि हैजा जीवाणुको परीक्षण भइरहेको छ।
संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र विश्व स्वास्थ्य संगठन (WHO) सम्मिलित टोलीले प्रभावित क्षेत्रमा उपचार र नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ। खानेपानी मन्त्री प्रदीप यादव र स्वास्थ्य मन्त्री प्रदीप पौडेलबीच हैजा नियन्त्रणका लागि तत्काल परीक्षण किट उपलब्ध गराउने, निजी अस्पतालमा निःशुल्क परीक्षण गर्ने र आवश्यक जनशक्ति परिचालन गर्ने निर्णय भएको छ।
हैजाका मुख्य लक्षणमा बारम्बार पानीजस्तो दिसा, बान्ता, डिहाइड्रेशन, अत्यधिक कमजोरी र मुटुको धड्कन बढ्ने जस्ता समस्या देखिन्छन्। यस्तो अवस्थामा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र ORS (जीवनजल) सेवन गर्न विज्ञहरूले सुझाव दिएका छन्।
स्वास्थ्य मन्त्रालयले पिउने पानी उमालेर वा क्लोरिन प्रयोग गरी मात्र प्रयोग गर्न, सरसफाइमा ध्यान दिन, खुला दिसा नगर्न तथा साबुनपानीले हात धुन सबैलाई आग्रह गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे