काठमान्डो, १० असार | उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ ।
बिहीबार हैजा पुष्टि हुनेमा बल्खु बस्ने ३५ वर्षीया महिला हुनुहुन्छ । “उहाँले धारामा आउने पानी प्रत्यक्ष रूपमा पिउनु हुँदोरहेछ,” टेकु अस्पतालकी निर्देशक डा. मनीषा रावलले भन्नुभयो, “बिहीबार पनि पाँच जना बिरामी सघन उपचार कक्षमा उपचारत छन् ।”
अब उपत्यकामा हैजा ‘आउटब्रेक’ हुने स्थिति भइसक्यो भन्दै उहाँले यसैगरी हैजा बढ्दै जाने हो भने डरलाग्दो स्थिति आउन सक्नेतर्फ सचेत गर्नुभयो । सबैलाई सरसफाइ, खानेकुरा तथा पिउने पानीमा विशेष ध्यान दिन आग्रह गर्दै निर्देशक डा. रावलले हैजाबारे जनचेतना भएन भने नियन्त्रण गर्न कठिनाइ हुने स्थिति देखिएको बताउनुभयो ।
हाल टेकु अस्पतालमा १३ जना झाडापखालाका बिरामी भर्ना भएका छन् भने तीमध्ये पाँच जना आईसीयूमा उपचाररत छन् ।
उहाँले हैजाको समस्या यसैगरी बढ्दै गएमा आगामी दिनमा सघन उपचार कक्ष नपाउने अवस्था हुनसक्ने बताउँदै मानिसको व्यवहार, खानपान तथा पानी पिउँदा सजग हुनुपर्ने सुझाव दिनुभयो । उहाँले ताजा र सुरक्षित खानेकुरा मात्र खानुपर्ने भन्दै हैजा घरबाहिरको खानपानबाट मात्र नभई आफ्नै घरको चुलोमा बनेको असुरक्षित खानेकुराबाट पनि सर्न सक्ने बताउनुभयो ।
हाल टेकु अस्पतालमा १३ जना झाडापखालाका बिरामी भर्ना भएका छन् भने तीमध्ये पाँच जना आईसीयूमा उपचाररत छन् । एक साताअघि हैजा पुष्टि भएका बागबजारका दुई दिदीबहिनीको अझै डिस्चार्ज हुन बाँकी छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले काठमाडौँमा हैजा फैलनुमा धेरै दिनसम्म फोहोर व्यवस्थापन नहुनु पनि कारण रहेको बताउनुभयो । उहाँले चमेना गृह, रेस्टुरेन्ट वा कार्यालयजस्ता ठाउँमा हैजाको जीवाणु मिसिएको पानीको प्रयोग गरिएको हुनसक्ने भन्दै विशेषतः पानीमा जीवाणु मिसिएको हुनसक्ने बताउनुभयो ।
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले दूषित खाना वा पानीको प्रयोग गरेपछि लक्षण देखिन सक्ने बताउनुभयो । उहाँले हैजाका लक्षणमा अचानक पानीजस्तो तारन्तार दिसा हुने, केहीमा सुरुवाती अवस्थामा पेटमा असजिलो हुने र खान मन नलाग्ने हुने, विस्तारै चौलानी पानीजस्तो पातलो दिसा भइरहने र दैनिक ५०, ६० पटकसम्म पातलो दिसा लाग्ने बताउनुभयो । बान्ता पनि तारन्तार हुने, खुट्टाका मासु बाउँडिने, असाध्यै तिर्खा लाग्ने, छटपटाहट हुने, पिसाबमा कमी आउने, सानो बच्चाका तालुमा खाल्टो पर्ने, आँखाभित्र गाडिने, आँसु नआउने, ओठमुख सुक्खा हुने, छालाको चमक हराउने, सुरुमा एकदम तिर्खाएको जस्तो देखिए लक्षण हुनसक्ने चिकित्सकहरू बताउनुहुन्छ ।
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले डिल्लीबजार, बागबजार, बालाजु, बल्खुलगायत स्थानमा पानीमा हैजा जीवाणु भेटिएको भन्दै खानेपानीमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे