
एजेन्सी।वासिङ्टनले भन्सार शुल्क घटाउने सम्भावनाको सङ्केत दिएको भोलिपल्ट, चीनले संयुक्त राज्य अमेरिकासँग व्यापार वार्ताका लागि ढोका ‘व्यापक रूपमा खुला’ रहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङबाट आयात हुने वस्तुहरूमा लगाइएका अतिरिक्त भन्सार महसुल घटाउन सकिने सम्भावना व्यक्त गरेका थिए।
ट्रम्पले जनवरीमा ह्वाइट हाउस फर्किएयता चीनबाट आयात हुने धेरै वस्तुहरूमा १४५ प्रतिशतसम्म भन्सार शुल्क लगाएका थिए। सुरुवातमा यो शुल्क चीनको फेन्टानिल आपूर्ति शृङ्खलामा संलग्नतामाथि लक्षित थियो भने पछिल्लो चरणमा अमेरिकाले अनुचित ठानेका व्यापारिक अभ्यासहरूमाथि केन्द्रित भएको थियो।
बेइजिङले जवाफमा अमेरिकी सामानमा १२५ प्रतिशतसम्मको प्रति–भन्सार शुल्क लगाएको थियो, यद्यपि हालै उसले वार्ताका लागि पुनः रुचि देखाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले दैनिक पत्रकार सम्मेलनमा चीनले पहिले नै ‘भन्सार युद्ध र व्यापार युद्धमा कुनै विजेता हुँदैन’ भन्ने धारणा राखेको स्मरण गराएका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि व्यापार युद्धले विश्वव्यापी आर्थिक व्यवस्थामा नकारात्मक असर पुर्याउने चेतावनी दिँदै सबै मुलुकका वैध अधिकार तथा हितहरू कमजोर बनाउने बताएका छन्।
ट्रम्पले अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई बर्खास्त गर्ने कुनै योजना नभएको बताएका छन्। उनले पावेललाई ब्याजदर घटाउन थप सक्रिय हुनुपर्ने बताएका थिए। ट्रम्पले भन्सार शुल्क ‘उल्लेखनीय रूपमा घट्ने’ बताएका थिए र सम्झौतामा पुग्नु नै अन्ततः अपरिहार्य हुने पनि संकेत गरेका थिए।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एक कार्यक्रममा भन्सार शुल्कहरू अब पारस्परिक व्यापार प्रतिबन्धको तहमा पुगेको बताएका थिए। उनले चीनसँग निष्पक्ष व्यापार र अर्थतन्त्र सन्तुलनमा ल्याउने आवश्यकता पनि औँल्याएका थिए। उनको भनाइमा, चीनसँग सम्बन्ध विच्छेद गर्ने अमेरिकाको कुनै योजना छैन।
यही सन्दर्भमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि सम्भावित व्यापार सम्झौताको मामलामा अमेरिका निकै राम्रो प्रगति गरिरहेको जानकारी गराएकी छिन्।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्त बैठकको सन्दर्भमा वासिङ्टनमा भेला भएका देशका वित्त मन्त्रीहरू र केन्द्रीय बैंक प्रमुखहरूको ध्यान व्यापार वार्ताको गतिमा केन्द्रित रहेको बताइएको छ। यसैबीच, जापानले पनि अमेरिकी भन्सार विषयमा छुटबारे छलफल गर्न आफ्ना दूत वासिङ्टन पठाउने तयारी गरेको छ।
यस घटनाक्रमले विशेषगरी विश्व बजारलाई केही हदसम्म स्थायित्व दिने आशा गरिएको छ। हङकङ र टोकियोका सेयर बजारहरूमा करिब २ प्रतिशतको वृद्धि भएको छ भने सुनको मूल्य केही घटेको देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे