
काठमाडौं – भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (PoK) स्थित आतंकी शिविरहरूलाई लक्षित गर्दै सञ्चालन गरेको सैन्य कारबाही ‘अपरेशन सिन्दूर’ले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ। सो कारबाहीलाई लिएर चीनले असन्तुष्टि जनाउँदै भारतलाई संयमता अपनाउन आह्वान गरेको छ।
भारतीय सेनाले सोमबार रातिदेखि प्रारम्भ गरेको ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र PoK मा रहेका आतंकी प्रशिक्षण शिविरहरू, भण्डारण केन्द्रहरू तथा घुसपैठका आधार शिविरहरूमा लक्षित हवाई आक्रमण गरिएको थियो। भारतीय सुरक्षा स्रोतका अनुसार, यस कारबाहीमा वायु सेना, थल सेना र खुफिया निकायबीच समन्वय गरिएको थियो। भारतले सो कारबाहीलाई जम्मु-कश्मीरको पाहलगाममा भएको आक्रमणको प्रतिशोधको रूपमा प्रस्तुत गरेको छ।
चीनको विदेश मन्त्रालयले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत भारतको सैन्य कारबाहीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। प्रवक्ता माओ निङले भारतको कदमलाई ‘खेदजनक’ भनेको जनाइएको छ। उनले भारत र पाकिस्तान दुबैलाई संयमता अपनाउन आग्रह गर्दै द्वन्द्व समाधानका लागि सैन्य विकल्प होइन, संवाद र कूटनीतिक माध्यमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको बताइएको छ।
प्रवक्ताले चीनले सबै प्रकारका आतंकवादको विरोध गर्दै आएको स्पष्ट पारे पनि उनले वर्तमान परिस्थितिमा कुनै पनि पक्षले स्थिति झनै जटिल बनाउने कदमबाट बच्नुपर्नेमा जोड दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे