
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि देशका धेरै स्थानमा हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाले आज साँझ हिँउदे मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी दिएको छ।
विभागका अनुसार उक्त प्रणालीका कारण शुक्रबार अपरान्हदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका अधिकांश स्थानमा र गण्डकी, बागमती तथा कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षा हुने सम्भावना रहेको छ।
मौसम प्रणालीको प्रभावले तापक्रममा गिरावट आउँदै चिसो बढ्ने सम्भावना रहेको विभागले चेतावनी दिएको छ। विभागले भनेको छ, “वर्षा, हिमपात र चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायतमा असर पर्नसक्ने भएकाले सतर्कता तथा पूर्व तयारी अपनाउन अनुरोध छ।”
महाशाखाले जारी बुलेटिनमा जनजीवनलाई प्रभावित गर्ने सम्भावना औँल्याउँदै सबैलाई सावधानी अपनाउन विशेष आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे